बन्जी केही महिनामा, टावरमा क्लाइम्बिङ सुरु

पोखरामा नयाँ एड्भेन्चर थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७ रातोपैरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पल्ट टावर क्लाइम्बिङ सुरु गरिएको छ । ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चढ्दा थकाइ लागे बीचमा रोकिएर आराम गर्दै पनि जान सकिन्छ ।

एड्भेन्चर भएकाले पूर्ण सुरक्षा सावधानीमा संरचना तयार गरिएको र सोही अनुसार सञ्चालन गरिने कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले बताए । टावर क्लाइम्बिङ गर्न १ जनाको हजार रुपैयाँ तोकिएको छ । ’टावर चढ्दा आवश्यक उपकरण कम्पनीले नै व्यवस्था गर्छ,’ भट्टराईले भने, ‘स्पोर्ट्स वेयर लगाएर आउँदा सजिलो हुन्छ ।’

क्लाइम्बिङ गर्ने आफ्नो फोटो लिन चाहेमा थप २ सय रुपैयाँ लाग्नेछ । १० वर्षमाथिका बालबालिकाले क्लाइम्बिङ गर्न सक्ने छन् । तर, बालबालिकाको साथमा अभिभावक भने हुनुपर्ने छ । ‘टावरमाथि पुगेर फराकिलो हिमशृंखलासँगै पोखरा आसपासका दृश्य अवलोकन गर्न सकिन्छ,’ भट्टराई भन्छन्, ‘टावरमै बर्थडे, एनिभर्सरी सेलिब्रेसनको प्याकेजसमेत बनाएका छौं ।’

टावरसँगै बन्जी परिसरमै रेस्टुरेन्ट समेत सन्चालनमा आएको छ । अबको केही महिनामै बन्जी सुरु गरिने भट्टराईले बताए । टावरको संरचनागत काम सकिएको र कोभिड १९ का कारण जापानबाट प्राबिधिक आउन बाँकी भएकाले बन्जी सुरु हुन ढिलाइ भएको उनको भनाइ छ ।