स्थानीय उत्पादन प्रबद्र्धनमा युवाको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीय उत्पादन प्रबद्र्धन तथा बजारिकरणमा युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली उत्पादनको बजारीकरणका लागि स्थापित पोखरा फार्मर्स टे«डर्सको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ढकालले स्थानीय उत्पादनले बजार पाउन सके नेपालको ग्रामीण क्षेत्रको विकास तिब्र गतिमा हुनेमा जोड दिए ।

डोकोमार्ट अनलाइनको पहिलो भौतिक स्टोरका रुपमा शुरु गरिएको यो स्टोरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डोकोमार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली अर्थतन्त्रलाई बलियो बनाउने अभियानमा लाग्नका लागि सबैलाई अपिलसमेत गरे । श्रेष्ठले भने, ‘युवा उत्पादनमा लाग्नुहोस्, बजार खोज्ने काम डोकोमार्टले गर्नेछ ।’

१५ लाख रुपैयाँ लागतमा पोखरा महानगरपालिका वडा नं. ३० शिशुवामा स्थापित यो स्टोरमा किसानको उत्पादनलाई रिफाइन गरी ग्राहकलाई उपलब्ध गराउने तयारी भएको स्टोरका प्रोपाइटर सुनिल तिमिल्सेनाले जानकारी दिए ।

स्टोरमा गेडागुडी, मह, पिठो, कफी, अचार, बेकरी, पेन्टिङ्ग, तरकारी, सफाइ सामग्री जस्ता एक सय बढी सामग्री किन्न पाइन्छ । साथै स्टोरका सामग्री डोकोमार्टबाट समेत अनलाइन अर्डर गर्न सकिने स्टोरकी प्रबन्ध निर्देशक अञ्जली पौडेलले जनाइन् ।