सरुवा रोग अस्पतालले पायो कार्यकारी अधिकृत

गण्डकी प्रदेश सरकारले पोखरा ३० को महोरियामा स्थापना गरेको संक्रमण तथा सरुवा रोग अस्पतालमा पहिलो कार्यकारी अधिकृतका रुपमा डा. विकास गौचनले पदभार ग्रहण गरेका छन् ।

गत साउनमा गण्डकी प्रदेश सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश स्तरीय सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने निर्णय अनुसार लामो समयको अन्तराल पछि गौचनले बिहीबार कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. त्रिभुवन पौडेलले अस्पतालको सम्पूर्ण जिम्वेवारी समाल्दै आएका थिए । २ दसकको अनुभव समाल्दै सुदुर पश्चिमबाट सरुवा भई आउनु भएका डा. गौचनले पदभार ग्रहण गर्दै आफनो सिप, क्षमता र दक्ष्यताले भ्याएसम्म जनताको स्वास्थ्य सुधारमा काम गर्दै जाने प्रतिवद्धता गरे ।

गण्डकी प्रदेशको मुस्ताङमा जन्मनु भएका डा. गौचनले आफनै क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.त्रिभुवन भण्डारीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाध्यक्ष श्रीराम पोखरे, अस्पताल संचालक समितिका सस्थापक अध्यक्ष डा. कालु शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रममा लेखनाथ सामुदायिक लायन्स अस्पताल सञ्चालक समिति अध्यक्ष रमानाथ पौडेल, निवर्तमान अध्यक्ष मेजररामप्रसाद गुरुङ र अस्पतालका कार्यालय प्रमुख केदार लामिछानेले अस्पतालका गतिविधि र भौतिक अवस्थाबारे जानकारी गराएका थिए ।