एकल महिला समूह गण्डकीमा प्रमिला

मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी अध्यक्षमा प्रमिला तझ्या सर्वसम्मत चयन भएकी छन् ।

बुधबार भएको दोस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो । समितिको उपाध्यक्षमा अमृता सिग्देल (नवलपरासी), सचिव मीना अधिकारी (गोरखा) र कोषाध्यक्ष चिनुमाया गुरुङ तनहुँ छन् । सदस्यमा अजिता शर्मा, खडककुमारी, हीरामति शाही र सावित्री थापामगर छन्

बुधबारै मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकीले कुर्भे परियोजनाको सहयोगमा द्वन्द्वपीडित तथा वेपत्ता परिवारका एकल महिलाहरुलाई न्यायमा पहुँच विषयक कार्यशाला गोष्ठि समेत भएको थियो ।

राति हावाले ढोका बजे पनि श्रीमानकै झल्को

गोष्ठीमा पीडितहरुले न्याप पाउने आश र आजीविमा सहकारको सहयोगको अपेक्षा सुनाए । ‘राति हावाले ढोका बजे पनि श्रीमानकै झल्को लाग्छ,’ जसोदा शर्मा भन्छिन्, ‘ज्यान गुमाएका आफन्तले त चित्त बुझाए, बेपत्ता हुनेले दिनदिनै आँसु पिइरहेका छौं ।’ शर्माका श्रीमान् श्रीप्रसाद शर्मा बेपत्ता छन् । भावविह्वल मुद्रामा उनले सके लास वा सासमध्ये एक दिन नसके कहाँ, कसरी मारियो भन्ने जानकारी दिन आग्रह गरिन् ।

शर्माकै जस्तो पीडा छ अमृता सिग्देलको पनि । शर्माका श्रीमान्लाई राज्य पक्षले बेपत्ता पारेको थियो भने सिग्देलका श्रीमान्को विद्रोहीले हत्या गरेका थिए । सिग्देलले विद्रोह ताकाका घाउ निको हुने गरी कदम चाल्नुपर्ने विचार राखिन् । पर्वतकी मनरुपा शर्माले द्वन्द्वमा श्रीमान् गुमाएको घाउमा समाजले महलम भन्दा पनि नूनचुक छरेको अनुभूति सुनाइन् ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले राज्यका कार्यकारी पदमा पुगेकाहरु जिम्मेवार भए धेरै समस्या समाधान हुने बताए । विपक्षी दलको सदस्य भए पनि एकल र द्वन्द्वपीडित महिलाका समस्या सरकार समक्ष राख्ने र उनीहरुले गर्ने कामलाई सहयोग गर्ने थापाले प्रतिवद्धता गरे । उनले एकल र द्वन्द्वपीडित महिलामा निकै परिवर्तन आएको उल्लेख गरे । थापाले भने, ‘तपाईहरु निर्धक्क यसरी आफ्ना समस्या राख्न सक्ने हुनुभएको छ । नेतृत्वलाई खबरदारी गर्न सक्ने हुनुभएको छ ।’

कार्यक्रममा इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले कार्यपत्र प्रस्तुत गरिन् । उनले राज्य र विद्रोही दुवै पक्षसँग द्वन्द्वपीडितको एकीन तथ्यांक नभएको उल्लेख गरिन् । उनले राज्यले यो समस्या समाधानका लागि पहल नगरेको दाबी गरिन् । शर्माले भनिन्, ‘गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम र पञ्चवर्षीय योजनामा पनि यो विषय समावेश छैन ।’

कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका एकल र द्वन्द्व पीडित महिला सहभागी थिए ।
राष्ट्रिय मानवअधिकार आयोग पोखराका अधिकृत टंक खनालले एकल र द्वन्द्वपीडित महिलाले पहिचान र आजीविकामा सहुलियत खोजेको उल्लेख गर्दै त्यो उपलब्ध गराउनु राज्यको कर्तव्य भएको बताए ।

मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी अध्यक्ष प्रमिला तझ्याले यस खालका छलफल, अन्तक्र्रिया अझै सान्दर्भिक भएको बताइन् । उनले भनिन्, ‘महिला आत्मनिर्भर भए घाउ पुरिन्छ तर सरकारले उपेक्षा गर्दा समस्या थपिँदै छ । हाम्रो एकता र सहकार्य अझै जरुरी छ ।’
पोखरा ३० की वडा सदस्य रमा नेपालीले डेढ दशकसम्म आवाज उठाउँदा पनि आफूहरुका माग पूरा नभएको जनाइन् । द्वन्द्वपीडितसमेत रहेकी नेपालीले नगरसभा लगायतका अन्य मञ्चमा यो आवाज उठाएको र आंशिक रुपमा सम्बोधन भएको उल्लेख गरिन् ।

संकल्पका निवर्तमान क्षेत्रीय संयोजक दुर्गा न्यौपानेले समाजले विभिन्न आवरणमा दबाएकाहरुको आवाज उजागर गर्नुपर्ने विचार राखिन् । उनले एकल महिलाको जीवन अझै कष्टकर रहेको जनाइन् । उनले भनिन्, ‘पहिले अबिर लगाए पनि पोइल गई भन्ने अवस्था थियो । अहिले केही परिवर्तन भएको छ तर सन्तोष नै मान्ने ठाउँ भने छैन ।’

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बरालले द्वन्द्व पीडित नै विभाजित हुँदा उनीहरुको माग सम्बोधन नभएको बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले देशमा फेरि द्वन्द्व हुनसक्ने आशंका समेत गरे । बरालले भने, ‘विसंगति, विभेदको पृष्ठभूमि उही छ । द्वन्द्वको घाउँ आलै छ । फेरि द्वन्द्व हुन सक्ने सम्भावना पनि बढेको छ ।’

मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जूना केसीले कास्कीमा महिला सुरक्षा गृह अत्यावश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामीलाई छानोको आवश्यकता छ । सेफ हाउस पनि नभई भएको छैन । यसका लागि सरकारले तदारुकता देखाएको छैन ।’

कार्यक्रममा पुतलीबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बराल, कोसिस नेपालका मनोपरामर्शकर्ता जमुना शर्मा, समूहका प्रदेश सचिव मिना अधिकारीले लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।