केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेको छ। बबरमहलमा बसेको नेकपा केन्द्रीय समिति बैठकले ओलीलाई पार्टीबाट निस्काशित गरेको हो। स्थायी समितिको पुस ५ गतेको निर्णयलाई नेकपा केन्द्रीय समितिले अनुमोदन गरेको हो।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि पुस ५ गते बसेको नेकपा स्थायी समिति बैठकले उनीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। ओलीमाथि कारबाही गरेको निर्णय यसअघि नेकपाले निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ। सोही बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेसँगै उक्त प्रस्तावलाई पार्टी केन्द्रीय बैठकबाट पेस गरेर पारित गर्ने निर्णय गरेको थियो।

सोही अनुसार आजको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी बताए। बैठकमा ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित रहेको दाबी गरिएको छ। ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको र गैरसंवैधानिक ढङ्गले जनताको प्रतिनिधिसभालाई विघटन गरेर नेपाललाई राजनीतिक अस्थिरतामा धकेल्ने दुष्प्रयत्न गरेको नेकपाको ठहर छ।