कविता : छोरी र जून

जसरी उजेलिन्छ
धरती
जूनको किरणले
त्यसरी नै
उजेलिन्छु म
तिम्रो
सम्झनाको किरणले
टाढाको त्यो जूनजस्तै
टाढा छौ तिमी
टाढा ..
धेरै टाढा…
र, पनि
मन भरिभरि
तिमी नै तिमी हुन्छ्यौ
मस्तिष्क भरिभरि पनि
तिमी नै तिमी हुन्छ्यौ
जून उदाउँछ
घरतीको आकाशमा
तिमी उदाउँछ्यौ
मेरो मनको आकाशमा
जसरी पोखिन्छ
जूनको किरण
धरतीको आँगनमा
त्यसरी नै पोखिन्छ्यौ तिमी
मेरो मनको आँगनमा
मेरो रहरको जून तिमीमा
र, त्यो आकाशको जूनमा
केही फरक देखिन मैले
केही फरक भेटिन मैले
तिमीजस्तै लाग्यो जून
जूनजस्तै लाग्यो तिमी
छोरी !
आज तिम्रो जन्मदिनमा
मैले आकाशको
जूनलाई हेरिरहेको छु
र, त्यहीे आकाशको
जूनसँग
तिमीलाई नै दाँजिरहेकी छु !
र, तिमीलाई नै पाइरहेकी छु !!