नेकपा नेतृ एवं गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिला, बालबालिकामा हुने हिंसा धेरैजसो आफन्त, नातेदारबाटै भएकाले घर, पविवारबाटै हिंसा न्यूनीकरण थालिनुपर्नेमा जोड दिएकी छिन् ।
महिला र बालिका हिंसामा परे पनि कतिपय अवस्थामा इज्जत, सामाजिक मर्यादाका नाममा सार्वजनिक नहुने र दोषीले उन्मुक्ति पाउने गरेको उल्लेख गर्दै उनले हिंसा सहनु र हिंसा गर्नु दुवै घातक भएको बताइन् । उनले भनिन्, ‘हिंसा गर्नु न हुँदैन नै । हिंसा सहनु पनि हुँदैन । हिंसा गर्नेलाई जुनसुकै वाहानामा पनि संरक्षण गर्नु हुँदैन ।’
पोखरा वडा नं. १७ को आयोजना तथा सिविनको व्यवस्थापनमा बिहीबार भएको कार्यक्रममा कोइरालाले कानुन निर्माणले मात्र यो समस्या समाधान नहुने भएकाले व्यवहारमा उतार्न सबैको प्रयास चाहिने बताइन् । उनले भनिन्, ‘कानुनले मात्र हिंसा रोकिँदैन । नागरिकको व्यवहार र राज्य संयन्त्रको प्रभावकारिता पनि जरुरी हुन्छ ।’
पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले विद्यमान कानुन कार्यान्वयन भए हिंसाको मात्र निकै कम हुने विचार राखे । उनले उत्तरदायी र सजग नागरिक र प्रभावकारी कानुन कार्यान्वयनले हिंसा रहित समाज निर्माण हुन सक्ने औंल्याए ।
पोखरा महानगरकी कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले हिंसा विरुद्धको अभियान १६ दिन चलाएरमात्रै अपेक्षित उपलब्धि हासिल नहुने तर्क गरिन् । उनले थपिन्, ‘म हिंसा सहन्न र ३६५ दिन नै म हिंसा गर्दिनँ भन्ने प्रतिवद्धता जरुरी हुन्छ । अरुले हिंसा गरेमा टुलुटुलु हेरेर बस्दिनँ भन्ने नागरिक चेतना चाहिन्छ ।’

सिविनका केशव पौडेल हिंसामा परेका बालबालिकाले धेरै कुरा परिवारमै भन्ने भए पनि आमाबाबुले नै नपत्याउने र समाजभित्रै मिलाउने गर्दा दोषीहरु उम्किने गरेको सुनाए ।
वडा सदस्य शान्ता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अर्का वडा सदस्य बैकुण्ठ भण्डारी, रेडक्रसका मन्त्री उर्मिला खड्का, प्रमिला सुवेदी लगायतले बोलेका थिए ।




