पोखरामा क्रान्तिकारी माओवादीको विरोधसभा

नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर संघर्ष चर्काउने पूर्व निर्धारित कार्यक्रम अनुसार पोखरामा पनि विहीबार बिरोध सभा गरेको छ ।

पार्टीको हालै सम्पन्न पोलिटब्यूरोको बैठकले देशब्यापी रूपमा बिरोधका कार्यक्रमहरु चर्काउने निर्णयसँगै पोखरामा पनि क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा र विभिन्न जनबर्गिय संगठनले बिरोध सभा आयोजना गरेका हुन् ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य चन्द्रहरि सुबेदीले डबल नेकपा देशी बिदेशी प्रतिक्रियावादीको दल भएको आरोप लगाए । उनले जनआन्दोलनमा गणतन्त्रको बिरोध गर्ने ओलीले नै आफ्ना कार्यकर्तालाई राजावादीको कार्यक्रममा नारा लाउन पठाउनु कुनै नौलो कुरा नभएको तर्क गरे ।

देजमो नेपाल चार नम्बर प्रदेशका अध्यक्ष नेत्र रानाभाटले राष्ट्रिय , जनजीविका र जनस्वास्थ्यको सबालमा वर्तमान सरकार पूर्ण रूपमा असफल भएको भन्दै बिहारी सैलीको गणतन्त्र धोका भएको उल्लेख गरे । अब संघीय जनगणतन्त्रको लागि एक ढिक्का भएर लाग्नुपर्ने उनले बताए ।

यथास्थितिवादी अर्थात् दलाल पुँजीवादमा आधारित वर्तमान डबल नेकपाको संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउने गरेको भन्दै सडकमा राजावादीहरु चल्मलाउन बयलगाडे प्रधानमन्त्री केपी ओलीको हात रहेको उनको भनाइ छ ।

बिरोध सभामा पार्टीका नेताहरु रामजी थापा , निलबहादुर पुन, भीम श्रीस र केन्द्रिय सदस्य नारायण अधिकारी निश्चलले बोलेका थिए ।