फुस्रेखोला किनारमा रंगशाला बनाइने

पोखरा महानगरपालिका वडा नं. १७ को फुस्रेखोला किनारमा रंगशाला निर्माण गरिने भएको छ । पोखरा १७ पावर हाउस पश्चिमतर्फको खाली भूभागमा रंगशाला निर्माण गरिन लागिएको हो ।

रंगशाला जाने बाटो र रंगशाला निर्माणका लागि करिब ९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यहाँ रहेको करिब पाँच सय रोपनी जग्गामा बहुआयामिक रंगशाला निर्माण गर्ने योजना छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बुधबार प्रस्तावित रंगशालासम्म पुग्ने बाटो निर्माणको थलानी गरे । अहिले जिल्लाको अवधारणा नै संघीयता विरोधी भएको दाबी गर्दै उनले रंगशालालाई जिल्ला स्तरीय नभन्न अनुरोध गरे । उनले भने, ‘यो जिल्ला भन्ने संघीयता विरोधी छ । पछि रंगशालाको अपनत्व कसले लिने भन्ने अवस्था आउन सक्छ ।’

सार्वजनिक सम्पत्ति दोहनप्रति चिन्ता व्यक्त गर्दै उनले पोखरावासीलाई सजग र जिम्मेवार हुन आग्रह गरे । जिसीले भने, ‘अहिले हामी के गरिरहेका छौं र भावी पुस्तालाई कस्तो सहर हस्तान्तरण गर्छाैं भन्ने मुख्य कुरा हो ।’ उनले इच्छा शक्ति भए स्रोतको अभाव नहुनेसमेत जनाए ।

पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले यो रंगशाला गौरवको योजना भएको उल्लेख गर्दै यहाँ अनेक खालका साहासिक खेलका पूर्वाधार बनाउन सकिने उल्लेख गरे । उनले वडा कार्यालय विकास निर्माणका लागि दत्तचित्त रहेको उल्लेख गर्दै चाडै वडा प्रोफाइल सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

सडक निर्माणका लागि वडा नं १७ ले १० लाख र पावर हाउस विद्युत केन्द्रले ३ लाख प्रदान गरेको पावरहाउस फुस्रेखोला जिल्ला स्तरीय रंगशाला खेल मैदान निर्माण समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । वडा र पोखरालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन यो खेल मैदान सफल हुने उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष गोदारले रंगशाला र बाटो निर्माणमा सबैको पहलको अपेक्षा गर्दै सिर्जनात्मक सुझाव, सल्लाहको अपेक्षा गरे । उनले भने, ‘अनावश्यक पूर्वाग्रह राखेर आलोचना नगरौं । हामी खेलाडी हौं । काम गर्छाै । कतै अनियमिमता भए, आफैं नकआउट हुन्छौं ।’

कार्यपालिका सदस्यसमेत रहेकी पोखरा १७ की वडा सदस्य राधिकाकुमारी शाही योगीले खेल मैदान निर्माणले खेलको विकास, नागरिकको स्वास्थ्यमा सुधार र पर्यटन प्रवद्र्धनमा समेत योगदान गर्ने उल्लेख गरिन् ।

कार्यक्रममा नेकपा वडा नं १७ का अध्यक्ष सुभाष ढुङ्गाना, नेपाली काँग्रेस पोखरा १७ का सभापति देवराज अचार्य, रंगशाला निर्माण समिति सचिव प्रकाश बराल लगायतले बोलेका थिए ।