जनप्रियमा माविमा अन्तक्रिया

अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारद्धारा हालै जारी गरिएको कक्षा सञ्चालन कार्यढाँचा २०७७ अनुसार जनप्रिय मा.वि., सिमलचौर, पोखरा–८ मा सम्वन्धित पक्षसँगको अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा अहिलेको अवस्था दुविधात्मक भएतापनि स्वास्थ मापदण्डलाई अधिकतम् प्रयोगमा ल्याई केहि समय वैकल्पिक बाटोबाट विद्यालय संचालन गर्नेबारे छलफल भएको छ । कार्यक्रममा पोखरा वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल र सदस्य पुष्पराज सिग्देलले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्वन्धले नै अगाडि बढ्ने उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समिति सदस्य रमेश बरालले विभिन्न जिल्ला तथा विदेशमा विद्यालय सुचारु गर्नका लागि अपनाईएका उदाहरणलाई हृदयगम गरी विद्यालयलाई सुहाँउदो मापदण्ड कायम गरी अघि बढ्नुपर्ने सुझाव दिए ।

शिक्षक प्रतिनिधि श्रीकान्त आचार्यले विद्यालयको पठनपाठन, शैक्षिक गतिविधि, विभिन्न वार्षिक परीक्षा तथा आन्तरिक परीक्षाहरुलाई मध्येनजर गर्दै विद्यार्थीलाई सहजीकरण गर्न खटिएका विद्यालयका शिक्षकलाई धन्यवाद दिदै आउने दिनमा पनि शिक्षक सावधानीका साथ विद्यालयको गतिविधिमा रचनात्मक सहयोग गर्नको लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

शिक्षक अभिभावक संघका अध्यक्ष टीकाराम पौडेलले अभिभावकमा आफ्ना बालबालिकाको स्वास्थ र पढाईको द्धिविधा भएकाले विद्यालयले कार्यान्वयनमा ल्याउने उच्च स्वास्थ मापदण्डलाई अवलोकन गर्दे बालबालिकालाई विद्यालय पठाउने सोच रहेको जानकारी गराए साथै कक्षा ११ र १२ को वार्षिक परीक्षा छुटेका परीक्षार्थीहरुलाई राज्यले दिने अवसरबाट सुसुचित गर्न पनि विद्यालयलाई अनुरोध गरे ।

विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले हालसम्म आइपुग्दा सम्पूर्ण विद्यार्थीलाई विद्यालयकै आफ्नै एप्स मार्फत अनलाईन कक्षाहरु संचालन र पाठ्यपुस्तक तथा गृहकार्य पुस्तिका वितरण गरिसकिएको जानकारी दिए । जसमा विद्यार्थीहरुको व्यक्तिगत विवरण, कक्षा कार्य, गृहकार्य र त्यसको परीक्षण, विभिन्न परीक्षाहरु र मूल्यांकन समेतलाई समावेश गरिएको थियो ।
कक्षा नर्सरी देखि कक्षा १२ सम्मका कुल १८१९ जना विद्यार्थीहरुलाई उक्त श्रीजनप्रिय एप्स मार्फत शैक्षिक कार्यक्रम संचालन भइरहेको भएतापनि केही विद्यार्थीहरु एप्समा जोडिन नसकेको र शिक्षा मन्त्रालयद्धारा जारी गरिएको कार्यढाँचाको आधारमा स्वास्थ एवं सुरक्षा मापदण्ड अपनाई भौतिक रुपमा पनि कक्षा संचालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दे अगाडी बढ्नुपर्ने बताए ।

अभिभावकहरु शिवबहादुर अधिकारी र सञ्जयकुमार चौधरीले अनलाईन कक्षा निकै प्रभावकारी भएको तर बालबालिकाहरुको यो वर्षको शैक्षिक सत्रनै धरापमा पर्ने होकी भन्ने चिन्ता व्यक्त गरे ।
शिक्षक शान्ति बरालले विद्यालयलाई सहयोग गर्ने दाताहरु संग समन्वय गरी स्वास्थ सामग्रीको उचित व्यवस्थापन गर्न अनुरोध गरीन् ।

जनप्रिय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष सरोजनारायण बराल, सचिव धीरज थापा, कोषाध्यक्ष प्रतिमा पोखरेल, सदस्य शिला सिग्देल लगायतले यो कठिन बेलामा पूर्व विद्यार्थी मञ्च सदैव विद्यालयको सवाङ्गीणहितको लागि तत्पर रहने प्रतिवद्धता गरे ।

कार्यक्रममा जनप्रिय पूर्व विद्यार्थी मञ्चले अनलाईन पठनपाठन नियमित राख्न विद्यालयमा सफ्टवयर जडान गर्न ८० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रम प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले संचालन गरेका थिए ।