धनुष सहकारीको साधारणसभा

पोखरा–९, दरवारथोक मार्ग स्थित धनुष बचत तथा ऋण सहकारी संस्था लि. ८ औं वर्षमा प्रवेश गरेको छ ।त्यस अवसरमा सहकारीले सप्ताहव्यापी विभिन्न कार्यक्रमका साथ बार्षिक साधारणसभा मनाएको छ ।

उद्घाटन सत्रमा सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार प्रेमप्रसाद ढकालले सहकारीले सदस्य हीतमा कार्य गर्दै आइरहेको जनाउँदै त्यसलाई अझै बढाउनुपर्ने बताए ।

शैक्षिक समाज सहकारी संस्थाका अध्यक्ष लीलाधर बरालले स्थापनाको छोटो समयमै धनुषले उल्लेख्य सफलता प्राप्त गरेको औँल्याउँदै त्यसलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिए।

उक्त अवसरमा शेयर सदस्यको तर्फबाट लक्ष्मीप्रसाद पौडेल(अनिल) र बालकृष्ण लुईटेलले पनि धारणा राखेका थिए। प्रमुख कार्यकारी अधिकृत विराज सुवेदीले भावी योजना माथि प्रष्ट पार्दै पेन्सन बचत, अवकाश बचत र बाल दक्षिणा बचत खाताका बारेमा प्रकाश पारे।

साधारणसभाले अध्यक्ष राजाराम सुवेदी, सचिव जगत पौडेल, कोषाध्यक्ष गोविन्दप्रसाद तिम्सिना र कर्जा उपसमितिका संयोजक कृष्णबहादुर खाँणद्वारा प्रस्तुत विभिन्न प्रतिवेदन छलफलसहित अनुमोदन गरेको छ ।

सहकारीका अध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साधारणसभा कार्यदलका संयोजक प्रदीप भुजेलले स्वागत तथा सचिव जगत पौडेलले सञ्चालन गरेका थिए ।