कथा: कोरोने साथी

हरिभक्त बिमाको रकम लिन लाइनमा उभिएका थिए | उनले श्यामदासलाई पाँच जना अगाडि देखे | हरिभक्तको मानसपटलमा श्यामदाससंगको सम्बन्ध र कोभिडको भोगाइको स्मरण घुमि रह्यो -म र श्यामदास वाल्यकालदेखिका साथी थियौं | आर्थिक कारणले केहि टाढा बनाएको हाम्रो सम्बन्ध कोभिडले छेउमा पुर्यायो | म निजि विद्यलयको उच्च माध्यमिक तहको शिक्षक थिए भने श्यामदास सामुदायिक विद्यालयको प्रावि तहको राहत शिक्षक थिए | श्यामदासको तुलनामा मेरो आय र सम्मान धेरै उच्च थियो | हामी मिलेरै एउटै भाडाको कोठामा भान्छा जोडेर बसेका थियौं |

कोभिडले गर्दा जब बिद्यालय बन्द भए, मेरो आयको स्रोत एक्कासी सुक्यो | आय नभए मान सम्मान पनि खुम्चिदै गयो | श्यामदासको आयमा केहि असर पुगेको थिएन | बरु बढेको थियो | वुढापाकाले भन्ने गरेको ‘सरकारी नग्रो’ को भावार्थ मैले बुझदै गए | श्यामदास मसंग बस्न नरुचाइरहेको लक्षण समय समयमा देखाइ रहेका थिए | मेरो काकासंग अङ्सबण्डाको मुध्दाको लागि पुरानावेदन गर्नको लागि एक लाख रुपैयाँ अति आवश्यक परेको थियो | कोठा भाडा तिर्न र जागिरको पुन: प्राप्तिको आशामा झुण्डिइ रहन पनि पचास हजार जति चाहिएको थियो | त्यसैले ढुकुरी बोल्ने मानसिकतामा थिए | श्यामदास , म लगायत जम्मा तीस जनाले मासिक पाँच हजार उठाउने गरि ढुकुरी जमाएका थियौं | यो बोल ढुकुरी थियो | जसले बडाबड गर्दै जादा बडी रकम छोडन तयार हुन्छ उसैले ढुकुरी बुझ्न पाउथ्यो | यसले गर्दा अरु ढुकुरी भाइहरुलाई फाइदा हुने गर्दथ्यो |

धन नास, मनको पीर, घरको किचलो, ठगिएको कुरा र मान हानी भएको कुरा बुध्दिमानीले प्रकाशमा ल्याउनु हुदैन भन्ने नीतिशास्त्रको उपदेश धेरै पढे पनि मैले व्यावहारमा ल्याउन सकिन | श्यामदासलाई यी मन पेट खोली भन्दा ढुकुरी चालीस प्रतिशत बोल्नु मात्र परेको होइन बरु अरु धेरै कुरामा अप्ठारो परि रहेको थियो | त्यसपछि श्यामदास जोडिएको घरमा डेरा सरे | हाम्रो बोलचाल प्राय: बन्द भयो | झ्याल आमने सामने भएकाले बोलेको सुनिन्थ्यो | मेरो कोठाको झ्यालमा हरियो सिसा हुदा मैले श्यामदासलाई देख्न पनि सक्दथे | लुकेर अरुको चीयोचर्चा गर्नु अनैतिक कार्य भए पनि मेरा आँखा उता गईरहन्थे |

श्यामदासको घरभेटी बज्यै साह्रै सहयोगी भएको जस्तो लाग्दथ्यो | श्यादासलाई सन्चो बिसन्चो खानपिनमा सहयोग गरेको देख्दथे | मेरो घरभेटी आमा साह्रै रुखो तथा कचकचे ठान्दथे | बाहिर राखेका जुत्ता र चप्पल गनेर साथीहरु आएको थाहा पाउथिन् | यसले मात्र पनि उनको दिमागको पारो चडिहाल्थ्यो | एकदिन श्यामदासले घर फोन गरेको सुने -मलाइ कोभिड भएर पनि एकै हप्तामा नेगेटिभ रिपोर्ट आयो | हाम्रो उमेरका लागि अति थोरै लक्षण मात्र देखिदो रहेछ | बिमा गरेको थिए | अर्को महिना पसलको साहुसंग पनि बिदा मागिसकेको छु | बिमा ,पसलको तलब र शिक्षकको तलब सबै गर्दा साडे दुई लाख जति ल्याएर घर आउँछु | चिन्ता नगर्नु —| मेरो मनमा एउटै तिरले दुईवटा शिकार गर्ने सुझ आयो | बिमा अफिसमै गइ कोभिडको बिमा गर्न माक्स चिउडामा लगाएर भिडभाड भएको सार्वजनिक यातयात प्रयोग गरे | कोभिडको सुनिस्चितताको लागि दोस्रो पटक पनि कीर्तिपुर रत्नपार्क कोचिएरै ओहोरदोहोर गरे | दुईदिनपछि शरिर साह्रै दुख्न थाल्यो | दुई हजार तिरेर पिसिआर परीक्षण गराए | रिपोर्ट चौबीस घण्टा भित्र इमेलमा आउने भनिएको थियो | जब म डेरामा पुगे हनहन्ति ज्वरो आयो | मलाई पछुतो र ग्लानि भयो | यो ज्वरो रुघाको होस् भनि कामना गरे | रिपोर्ट नेगेटिभ आहोस् भनि देवी देवता कुल कुल्यान सम्झे | भोलिपल्ट एघार बजे मोबाइलमा कोभिड पोजेटिप भएको म्यासेज आयो |

पानी तताएर खान पनि सकिन | श्यामदास र उनको घरभटी बज्यैवीच खटपट चलेको सुने | घरभेटी बज्यै फलाकी रहेकी थिइन् -पहिल्यै भन्नु पर्दैनथ्यो | जाली घुसघुसे, अझै सम्पन्न, नागरिकता र सहिछाप चाहियो रे ! श्यामदासले अनुनय गरि रहेका थिए -बिमा रकमको दाबीको लागि वार्डको सिफारिस चाहिएर हो | घरभेटीले मेरो घरमा आइसोलेशनमा बसेको प्रमाणित गरे मात्र वार्डले सिफारिस दिन्छ,त्यसैले हजुर ! एक लाखको कुरा छ नि हजुर | म साबधानीका सबै उपाय अपनाई रहेको थिए | रिपोर्ट नेगेटिभ आएको पनि बीस दिन भै सक्यो | श्यामदासकी देउता जस्ति घरभेटी बज्यै त राक्षस भएकी थिइन भने मेरो पहिल्यै राक्षस जस्ति घरभेटी आमै कोभिड भएको सुनाउदा झन के हुने हुन् ? साह्रै डर लाग्यो | हस्पिटलबाट पलाष्टिकका लाम्चा पोका घिसारी रहेको दृश्य मन मष्तिकमा घुमि रह्यो | श्यामदासको घरभेटी अङ्कल आएर दुबैलाई सम्झाउदै कुराको बिट मारेको पनि सुने – चराचर बराबर गर्ने ,कुरा बुझियो | अब दुबै चुप लाग | मैले घरभेटी आमैलाई साहस बटुलेर बिन्ति बिसाएँ -आमै , मलाई कोभिड पोजेटिप देखियो | मेरो बाथरुम छुट्टै छ | म साबधानीका सबै उपायहरु अपनाउँछु | मलाई कोठा छोड नभन्नु होस् है ! जब म आमैको प्रतिक्रिया बुझन मुखमा हेरे मैले उनका आँखा रसाएको देखे | आर्धतासाथ उनीले भनिन् – पीर नगर बाबु , हामी छौं | आफ्नै आमा सम्झ | कसैले रोग लागोस् भन्दछ त ! रोगलाई घृणा गर्ने हो , रोगीलाई सहयोग | टिभिमा बाघले मृगको बच्चालाई समेत माया गरेको देखेकी छु | कुनै प्राणीले नगर्ने , मानिसले मात्र गर्ने काम गरि हाल बाबु !घरभेटी आमै खित्का छोडेर हासिन् र मलाई पनि हास्न भनिन् | दोस्रो पटक म पनि उनीसंगै हाँसे |

ती आमैले देखाएको सदाशयताले मेरो ज्वरो स्वत: घटे जस्तो लाग्यो | शरीर हल्का भयो | त्यस दिनदेखि ती आमैले बिहान एक गिलास गुर्जो पानी, दुईवटा लोकल कुखुराका उसिनेका अण्डा, सबै मसला मिसाएको दुई पटक झोल, निम तुलसीपत्र मिसाएको तातो पानीको वाफ, माछा ,मासु, दुध, च्याउ पेस्किकमको आदिको तरकारी, नियमित तातो पानी दिइरहिन् | हल्का व्यायम प्रणायण म गर्दै गए | घाम ताप्नको लागि माथिल्लो सानो कौसी मलाई मात्र दिइयो | कोरोना जित्नको लागि भौतिक र मनोवैज्ञानिक दुबै वातावरण मलाई मिल्यो | म दश दिन मै निको भए | प्राइभेट हस्पिटलमा हप्तैपच्छे तीन पटक पिसिआर टेस्ट गर्दा पनि रिपोर्ट पोजेटिभ नै देखाएपछि चौथो पटक प्राइभेट र सरकारी दुबै हस्पिटलमा एकैदिन टेस्ट गराए | प्राइभेटले पोजेटिभ नै देखाए पनि सरकारीले नेगेटिभ देखायो | मैले यति स्मरण गरि सक्दा श्यामदास के कागत नपुगेको भनिए पछि झोक्किदै मतिर फर्के | त्यसपछि उनले मलाई र मैले उनलाई केहि क्षण हेराहेर गरि रह्यौ |