भर्खरै मंसिरको पहिलो हप्ता सकिदैं छ । तिहारसँगै छठ पर्वले विट मार्यो । किसान पर्व सकेर खेतबारीमा ओर्लिएका छन् । कतै धान थन्क्याईसकेका छन् । कतै थन्क्याउने चटारोमा छन् ।
धान थन्क्याउने चटारोमा रहँदा जेठो बुढो धान फलाउने किसानलाई भने राहत मिलेको छ । पोखरा महानगरपालिकाले पहिलो पटक जेठोबुढो धानको समर्थन मूल्य किसानको हितलाई ध्यानमा राख्दै तोकिदिएको छ । प्रति क्विन्टल ९ हजार रुपैयाँ समर्थन मूल्य तोकिएको महानगरपालिकाले जनाएको छ । किसानहरुको लागतलाई ध्यानमा राख्दै लागतको २० प्रतिशत बढाई धानको समर्थन मूल्य तोकिएको पोखरा महानगरपालिकाका कृषि विभाग प्रमुख मनोहरी कडरियाले बताए ।
उनका अनुसार रैथाने जातको जेठो बुढो धानको संरक्षण र प्रवद्र्धन गर्नु अभियान महानगरपािलकाले लिएको छ । त्यसै अनुसार धानको मूल्य तोकिएको हो । तोकिएको मूल्यमा सहकारी एवं कुनै कम्पनी वा फार्मले खरीद गर्न सकिने महानगरपालिकाले जनाएको छ । पोखरामा यो वर्ष जेठोबुढो धानको उत्पादन १२ देखि १४ हजार मेट्रिक टन हुने अनुमान गरिएको छ ।
कुल क्षेत्रफल मध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान लगाइएको छ । प्रतिमुरीको मूल्य ४५ सय पर्ने उनले सुनाए । महानगरपालिकाले जेठो बुढो धान उत्पादन गर्ने किसानलाई बिउ संरक्षण गर्न समेत आर्थिक सहयोग समेत गर्दै आएको छ । किसानलाई गतवर्ष ५ लाख रुपैयाँ अनुदान दिइएको थियो ।




