कविता : डरको राहदानी


जिन्दगीका उथुलपुथुलहरुमा फक्र्यिएको एउटा गुरास
मुर्झाएको खबर छ !
आर्तनादले मुटु चिराचिरा छ!
लास जस्तै भयो परिचयको खाकाँ
मैले मानबताभित्र कहाँकहाँ खोजुँ?
पराई भुमिमा बिलिन नागरिकताबाट
म माटोको सुघन्ध कसरी लिउँ?
उपल्लो बङ्गलाका भित्ताहरुमा
तिमीले मेरो राष्ट्रको झण्डा
किन झुकाउन रुचायौँ?
अनागरिक नबनिदेउ न प्यारा
सुबिधाको घट्टमा ,
बिचारको ढिकिमा ,
अश्लिल जिन्दगीको
जातोमा पिल्सिएर
मनलाई बेमन किन गराउछौँ?
नुनमा अल्झिएको दुनैको दुख भन्दा
माथी तिम्रो रहर हुन सक्छ र?
भोली कुन गोलार्द्धमा खोज्छौ ?
दौराको फेरो ,
कुन शिरमा खोज्छौ?
ढाकाको रौनक ,
अनि कुन आगनमा भेट्छौ?
आमाको आत्मियता
बा को ब्यबहारिकता
हे ईस्वर!
आजभोली सपनामा तिमीलाई
देश छोडेको देख्छु
सेता हिमाल देख्नुपर्ने
यी आखाहरु एकाबिहानै
आशु सजिएका
हरियो राहदानी किन देख्छन?