मानिस कुनै पनि घटना वा परि-घटना लाई दुई तरिकाले ग्रहण, बिश्लेषण र अबधारणा निर्माण गर्दछ, पहिलो आलोचनात्मक चेत र दोस्रो आफ्नो स्वार्थ। कुनै ब्याक्ति बिशेषको शिक्षा, संगत, अनुभव र परिवेश उसको आलोचनात्मक चेतको अवस्थाको निर्धारण गर्दछ भने निजि स्वार्थले कुनै घटना वा परिघटनामा आफुलाई लाभको अनुकुलनताको आधारमा व्याख्या, बिश्लेषण र पैरवी गर्ने गर्दछन। मानिस सामाजिक प्राणी भएको नाताले आफुलाई प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने कुनै पनि बिषयबस्तुमा आफुलाई निरपेक्ष राख्न सक्दैन र प्राय एक वा अर्को कित्तामा आफुलाई सामेल गराउदछ। यसरी कित्ता काट गर्दा कुन कित्तामा सामेल गराउने त्यो उसको आलोचनात्मक चेत र निजि स्वार्थले दिशा-निर्देश गर्दछ।
आजकल सत्तासिन नेकपा भित्रको रडाको, कोलाहल, रोईलो, तल्लो स्तरको आरोप-प्रत्यारोप, गुटबन्दि, छिर्के दाउपेच सबैको यथोचित प्रयोग गरेको देखिन्छ। एकले अर्कालाई खुईलाउन संसारकै सबभन्दा तुक्ष्य, निच, बेइमान, स्वार्थि, कपटी, छली, जाली, झेली, धोकेवाज, अटेरी, भस्ट्राचारि, पाखण्डी, गैह्र-जिम्मेवार, निकम्वा, घटिया, धुर्त जस्ता नेपाली शब्दकोशमा भएका सबै नकारात्मक शब्दले विभूषित गरिएका छन्। भित्र भित्रै बाहिर ब्यक्त गर्न नमिल्ने कति कुण्ठा, हिन मनोभाव र आपसी सौदाबाजीका कुकृत्यहरु जुन खुला रुपमा आउदा दुबैलाई लपेट्न सक्दछ ति अझै गोप्य र गुमराहमा राखिएका होलान। एक अर्का प्रति प्रहार गरिएका शब्दहरुमा न कुनै दार्शनिक, सैद्धान्तिक र राजनीतिक बहस र बिषयबस्तु छन् न त जनताका जनजीविका का मुद्दा र सवालहरु नै मुखाकृत भएका छन। सबै गालि-गलौजहरु सिमित ब्यक्ति, सत्ता, शक्ति र भक्तिमा केन्द्रित देखिएका छन् ।
व्यक्ति र स्वार्थ केन्द्रित किचलोमा हिजो त्याग र बलिदानीपूर्ण आन्दोलनमा अग्रपंतिमा सामेल भएका आशा गर्न लायक ब्यतिहरु पनि जोडिएको देख्दा उदेक लागेर आउदछ। नेतृत्वले भने अनुसार ब्र्हमाण्ड कै खराव मानिसहरुको नेतृत्व गरेको पार्टीमा टुट-फुट नहोस, दुवै पक्ष मिलि रहुन, स्वार्थको तालमेल भैरहोस, ढोके, हुक्के, बैठके, भान्से, तत् तत स्थानमा कायम रहोस र पार्टी एकता कायम रहोस भनी चित्कार गरेको सुन्दा सहिदहरुलाई पनि ऎठन हुन्छ होला। राजनीति वर्गीय हुन्छ र एकता सापेक्ष हुनुपर्दछ ।
सबै देख्दै, सुन्दै र अनुभव गर्दै गर्दा पार्टी एकताको लागि रुद्री लगाउने, चण्डीपाठ गर्ने, गायत्री मन्त्र जप्ने, होम कृतन गर्ने र हनुमान चालिसा पढ्ने द्द्न्दात्मक भौतिकवादी कम्युनिष्ट सायद नेपालमा मात्र पाईन्छन होला।
मानौ अहिलेको नेकपा अहिलेकै नेतृत्वमा भागसान्ति पुन एकताबद्द भयो भने नेता कै शब्द सापट लिदा “हुल्लड्वाज” र “सडकछाप” सदस्यहरुले फेरी आफुलाई गोरो र सेतो बनाउन नुनको क्रिम लगाएर बस्ने? के जनता सधै भरि मतदाता र करदाता मात्रै हुने?
अर्थशास्त्रको सामान्य नियम अनुसार एकाधिकारले कुनै उद्येाग-व्यापार, खरिद-बिक्री आदिमा एउटा व्यक्तिको मात्र आधिपत्य हुने वा भएको स्थितिले कुनै काम, वस्तु वा व्यापारमा एकाधिपत्य गर्दछ र एकाधिकारले बजार नियन्त्रण गरि उपभोक्ताहरुलाई चर्को शोषण गर्न अवसर दिन्छ। टाउको गनेर शासन गर्ने संसदीय राजनीतिक बजारमा स्थाई र दिगो सरकारले पनि केहि लछारपाटो लगाउदो रहेनछ भन्ने कुरा बर्तमान सरकार र त्यसको नेतृव गरेको पार्टी बाटै पुष्टि भयो।
जसरी बस्तु बजारमा आकर्षक बिज्ञापनबाट उपभोक्ताको “ईमोसनल ब्ल्याकमेल” हुन्छ त्यसरीनै हालको डवल नेकपाले “कम्युनिष्ट” शब्दको दुरुपयोग गरि मतदातालाई भावनात्मक ब्ल्याकमेलिङ्ग बाट जनताको दृष्टि र सत्तासिनहरुको दृष्टिकोणमा पर्दा हाल्न सफल भएको थियो।
नेपालमा राजनीति आज सिमित ब्याक्ति र तिनीहरुका भाई-भारदारहरुको ब्यबसाय भएको हुदा राजनीतिक बजारमा एकाधिकारको अन्त्यले उपभोक्ताहरुलाई कम्तिमा पनि केहि छनौटको अवसर दिंने थियो। खराव मध्य कम खराव छनौटको सुबिधा हुने थियो। कम्तिमा पनि प्राईभेट कम्पनीबाट पब्लिक कम्पनी सम्म स्थापना भयो भने कम्पनी प्रति जनताको स्वामित्वभाव बढने थियो। नेपाली राजनीतिमा नेपाली काग्रेस आझै पनि निर्वाचन आयोगमा दर्ता कायम रही जिवितै छ क्यारे। उता बाबुरामहरुले पनि अझैसम्म ढडिया बोकेकै छन। यी सबै संसदीय बजारका छनौट अवसर हुन्।
सरकारी नेकपा भित्र हाल सतहमा आएका एक अर्का प्रति लगाईएका आरोपहरु र तिनको सत्यतालाई नजरअन्दाज गरि कुनै अमुक नेताको फेरो समाएर उनैलाई सृष्टिकर्ता, सम्रक्षणकर्ता, संहारकर्ता ब्रह्मा, विष्णु र महेश्वर स्वरुपमा पुज्ने दोस्रो श्रेणीका “कमरेड” हरुको आलोचनात्मक चेत आज स्यालको सिङ्ग हराए जस्तो गरि कसरि हरायो? हुन् त् श्रीखण्डको नजिक भए पो श्रीखण्डको बास्ना आउनु बकैनाको रुख नजिक हुर्केकाहरुमा श्रीखण्डको गुण कसरी पो आवस। अझै पनि राजनैतिक चेत, बर्गीय माया, स्वाभिमान र जनता प्रति थोरै भएपनि जिम्मेवारीबोध छ भने एक पटक पार्टी भित्र बिद्रोह गर्ने हिक्मत देखाउनु होस्। आफुलाई कुनै गुटको फेरोभन्दा बाहिर राखी मिती गुज्रीयका र मतिभष्ट्र भएका हुडारहरुलाई ठेगाना लगाउनुहोस। स्मरणहोस् जनता जागे भने सर्वशक्तिवान राजा महाराजाहरु लाई पनि सिहासनबाट लतारेर सडकमा ल्याउने शक्ति राख्दछन।
पार्टी भित्र अपहेलित तर त्यागि र वलिदानी योगदान भएका, युद्दमोर्चामा मृत्युलाई जितेर फर्केका, लाखौ सहिद, बेपत्ता परिवार, अपांग र कयाण्टोनमेन्टबाट फर्किदा चेक खोसिएकाहरुको अधुरा सपनाहरु फेरी ब्युताउनु आतुर छन।
पार्टीमा भएको भाडभैलोले नेकपाका सामान्य कार्यकर्ता र शुभचिन्तकहरुमा नैरास्यता हुनु, पार्टी र नेतृत्व प्रति अविस्वास हुनु, जो आएपनि उस्तै हुदा रहेछन भन्ने निरासा जागृत हुनु, पार्टीमा लागेकोमा हिनता र पछुताउनु जस्ता मनोदशा आउनु स्वाभाविक हो। धमिलो पानीमा दिशाहिन भएर भौतारि रहनु भन्दा सग्लिन दिनुनै बेस हुन्छ। ईमान्दार र देश र जन-उत्तरदायी नेता र कार्यकर्ताहरुले आन्तरिक जनवादलाई थप मझभुत बनाई नेता प्रधानबाट नीति प्रधान पार्टीको पुनर्गठन गर्ने यो सुनौलो अवसर पनि हो। अत: नेकपा भित्रका ईमान्दार, अनुशासित, दलाल र बिचौलियाहरुको संगत बाट टाडा भएका नेता कार्यकर्ताहरुले जनतासंग क्षमा माग्दै अगाडि बढ्ने यो अन्तिम मौकाको रुपमा लिनु पर्दछ। टाउकेहरुले भोग गर्ने र जनताले हिसाव गर्ने व्यबस्थाको अन्त्य गरि जनताबाटै जनताको ईतिहासको निर्माणको अवसर आएको छ। व्यक्तिगत लाभ-हानि भन्दा माथि उठी पछाडि पारिएका र उत्पिडित जनहरुको हितार्थ फुटेको हाडीमा भिख माग्ने होईन आफ्नो अधिकार खोस्नको लागि फेरी नया सिराबाट उठ्नु पर्ने भएको छ। नेकपा भित्रका सच्चा नेता र कार्यकर्ताहरुले पार्टी फुट वा बिघटनलाई अवसर र उत्सवको रुपमा मनाउनुहोस !!!






