छोसेरको एक घरमा आगलागी

जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका—१ छोसेरको सिंजा स्थित एक घरमा सोमबार साँझ आगोलागी भएको छ । स्थानीय लाक्पा ढिन्डुक गुरुङ एकतलाको ५ कोठे ढुङ्गा र माटोले बनेको घरमा आगालागी भएको जनाईएको छ ।
मंसिर १ गते भाईटिकाको दिनमा मुस्ताङको उत्तरीक्षेत्रमा भारी हिमपात भएको थियो ।हिमपातसंगै अत्यधिक चिसो बढेकाले स्थानीय लाक्पा ढिन्डुक गुरुङको घरका एक बृद्ध सदस्यले घरमा एक्लै गुईठा बालेर आगो तापेर बसेको अवस्थामा साझ ७ बजे भिषण आगोलागी भएको दिव्यदिप माविका शिक्षक गोबिन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
आगोलागीबाट गुरुङको घरमा रहेको फर्निचरका सामान ,वायरिङ गरिएको सोलार उपकरण ,लत्ता कपडा र घरमा हिउँदयामका लागि जाडो छल्न जोहो गरिएको गुईठा जलेर नष्ट भएको शिक्षक श्रेष्ठले बताए । उनका अनुसार आगोलागीबाट पशुचोपाया तथा मानविय जोखिम नभएपनि ५ कोठे घर ध्वस्त भएको छ ।
आगोलागीको खबर प्राप्त भएपछि दिप्यदिप माविका शिक्षक तथा स्थानीयको करिव २२ जनाको समुहले ४ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । तर शिक्षक तथा स्थानीयबासीले आगो नियन्त्रणमा लिएको भएपनि मोवाईल नेटवर्कको समस्याले प्रहरी उपस्थित हुन नसकेको जनाईएको छ ।
तर ,आगोलागी भएको भोलीपल्ट मात्र प्रहरी आगोलागी भएको घटनास्थलमा पुगेर क्षति विवरण संकलन गरेको छ ।