शिखर चुम्ने पैतालालाई
आधारशिविरमा काँडा गडेको छ
भन
म यो पहाड चढूँ कि नचढूँ
मेरो युगनायक
तिम्रो छायाले मलाई लज्जित बनाएको छ ।
तिम्रो लक्ष्मणरेखामा निर्वासित हुँदा
सपना पनि छोइने हुन्थ्यो
मेरो हृदयमा खोपेको तिम्रो तस्बिर
श्रद्धाले दैलो उघार्दा
अन्धकारमा जून भएर चम्कन्थ्यो
मन बित्रेर झोलचोक्टा भएपछि
आफैलाई सम्झाउन गाह्रो हुँदो रहेछ
आज तिमी नै
बार भत्काएर कुदिरहेछौ
मलाई निष्ठाको गोरेटो हिँड्न गाह्रो भएको छ
भन
म यो बाटो हिंडूँ कि नहिंडूँ
मेरो युगनायक
तिम्रो छायाले मलाई लज्जित बनाएको छ ।
आफैलाई ढाँट्नुजस्तो गाह्रो
दुनियाँमा केही हुँदो रहेनछ
ढाँट्न त म दुनियाँलाई सक्थेँ
आफ्नै छायालाई नमिल्दो रहेछ
तिम्रो निधारमा चम्केको विश्वासले
मेरो अधैर्यको धज्जी उड्थ्यो
हारे के छ र– जिते संसार
मेरो कलेजीको अभिलेखमा थियो
आज मलाई
आफ्नै अनुहार दुखेको छ
भन
म यो मुख देखाऊँ कि नदेखाऊँ
मेरो युगनायक
तिम्रो छायाले मलाई लज्जित बनाएको छ ।
प्रेम र युद्धमा
धोखा दिए नि पाप नलाग्दो रै’छ
मलाई छक्यायौ त केही थिएन
तिम्रै भरोसामा मैले
अरूलाई पनि सँगसँगै हिँडाएँ
धैर्यको सातु फाँक हालेर
विश्वासको आँसु पिइरहेँ
अभाव र यातनाको खडेरीलाई मैले
संयमको पसिनाले सिंचिरहेँ
आज टाउको
नब्युँतिने गरी लत्रेको छ
भन
म यो टाउकोलाई उठाऊँ कि नउठाऊँ
मेरो युगनायक
तिम्रो छायाले मलाई लज्जित बनाएको छ ।
हिउँको रातलाई कुल्चेर तिमीले
झुप्रोमा पस्दा न्यानो बोकेर आएझैँ हुन्थ्यो
टुकी बाल्न नहुने भयभीत रातमा
तिम्रो आँखाले बत्ती बालेझैँ हुन्थ्यो
कुरो सुनेर भोक बिर्सने बानी पर्दा
थकाइ नसुतेको पत्तो हुँदैनथ्यो
आज ग्लानिले आँखा निहुरेको छ
भन
म यी आँखा उचालूँ कि नउचालूँ
मेरो युगनायक
तिम्रो छायाले मलाई लज्जित बनाएको छ ।
(रचनाकाल : २०६० कार्तिक २८, ‘हाँसेर उसका ओठले’ बाट साभार)






