फङ्कीले जित्यो फुटसल उपाधि

पोखरा, सिर्जनाचोकको फङ्की युनाइटेड क्लबले ८० केजी तौल समूहको कास्की जिल्लास्तरीय खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

लेकसाइड युथ क्लबको आयोजनामा लेकसाइड फुटसल एरिनामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा भ्याली स्पोर्ट्स रामबजारलाई ४–३ गोलले पराजित गर्दै फङ्की युनाइटेडले उपाधि जितेको हो ।

उपाधिसँगै फङ्कीले २० केजीको भेँडा र प्रमाणपत्र हात पारेको छ । उपविजेता भ्याली स्पोर्ट्स क्लब रामबजारले १७ केजीको भेँडा र प्रमाणपत्रमा चित्त बुझायो । अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटी केन्द्रीय उपाध्यक्ष विनोद गुरुङले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरे ।

सेमिफाइनलमा फङ्की युनाइटेडले आयोजक लेकसाइड एफसीलाई ५–० ले र भ्याली स्पोर्ट्स क्लबले केइआइसीलाई ४–२ ले पराजित गर्दै फाइनल पुगेको थियो । उमेर समूहका आधारमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियागितामा १० टिमको सहभागिता थियो ।

‘कोरोनासँग लडौं, स्वास्थ्य सुरक्षा अपनाऔं’ भन्ने मूल नारासहित कोरोना महामारीको बेला लामो समय शून्य बनेको खेलकुद क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । क्लबका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै प्रतियोगिताको आयोजना गरिएको हो ।