पोखरामा आयल निगमको पहिलो प्रादेशिक भण्डारण केन्द्र

पोखरामा नेपाल आयल निगमले पहिलो प्रादेशिक भण्डारण केन्द्र बनाउने भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त भण्डारणको शिलान्यास गरे ।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने घोषित नीति अनुसार पहिलो परियोजनाको रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धिको रुपमा सुरु गरिएको हो। २०५८ सालपछि निगमको आफनै लगानीमा पहिलो कामको रुपमा यो योजना अघि बढेको छ।

प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ। एक दिनमा यस प्रदेशमा ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्रि भइरहेको छ।

निगमले ७७ करोड ७७ लाख रूपैयाँ लगानीमा भण्डारण ट्यांक निर्माण सुरु गरेको छ । पोखरामा अहिले पेट्रोल भण्डारण क्षमता तीन सय ५० किलोलिटर छ ।

१० हजार किलोलिटरको डिजेल भण्डारण स्थल निर्माण सम्पन्न भएपछि अहिलेको २२ सय ८० किलोलिटरका ट्यांकलाई पेट्रोल भण्डारण गर्ने गरी कन्भर्जिङ गर्ने निगमको योजना छ । निगमसँग अहिले डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन भण्डारण क्षमता ७१ हजार ६ सय ७४ किलोलिटर मात्र रहेको छ ।

निगमले चालु आर्थिक वर्षमा इन्धन भण्डारण पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। पेट्रोलियम पदार्थको नियमित र सहज आपूर्ति सुनिश्चित गर्नका लागि अन्य ठाउँमा पनि भण्डारण स्थल निर्माण गर्ने तयारी रहेको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए।

अहिले डिपो भएका स्थान क्षमता विस्तारसँगै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाउने निगमले जनाएको छ।

इन्धन भण्डारण टयाङ्क र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्णस्वचालित हुने निगमले जनाएको छ। डिजेल लोड र अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिामा आधारित हुने छ। डिपोमा एक नयाँ पहुँच सडक, दुई लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि नयाँ संरचना निर्माण गरिनेछ।

आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने रिमोट कन्ट्रोल प्रविधिमा राखिने छ। कुनै पनि कारणले डिपोमा आगोलागी भएको खण्डमा करिब दुई घन्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा बनाइने छ।आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि तोकिएको समयअगावै आयोजना सम्पन्न हुने बताइएको छ।

निगमको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका कास्की, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, मुस्ताङ र तनहुँका केही भागमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ। प्रादेशिक डिपोबाट हाल दैनिक २४० किलोलिटर डिजेल र १२० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ। यस्तै एक सातामा २० किलोलिटर मट्तिेल बिक्री हुँदै आएको छ। गण्डकी प्रादेशिक डिपोको हालको भण्डारण क्षमता डिजेल २२८० किलोलिटर, पेट्रोल ३५० किलोलिटर र मट्टिलेल ७६० किलोलिटर रहेको छ।

दुई वर्षभित्रै निर्माण सम्पन्न हुने उक्त भण्डारण गृह निर्माणका लागि आयोजनाको ठेक्का समानान्तर(रेलिगेयर(भारत ट्याङ्क्स जेभीले पाएको छ।