पोखरा महानगरपालिका वडा नं ५ ले वडा कार्यालयले सम्पादन गरेका विकास, निर्माण, वडाका सम्पदा, अवस्था र सम्भावनालाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।
बिहीबार वडाले प्रकाशन गरेको ‘वडा दर्पण अंक २’ सार्वजनिक गरियो । वडा बाल मन्चका अध्यक्ष दिपाली भट्टराईले पुस्तक सार्वजनिक गरिन् । उनले वडाका विकास, निर्माण र तथ्यांकबारे जानकारी लिन पुस्तक उपयोग भएको बताइन् । उनले विकास, निर्माणका गतिविधि र समाजसमेत बालमैत्री हुनुपर्नेमा जोड दिइन् ।
पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले आफूहरु पोखरा ५ लाई नमुना वडा बनाउन प्रतिवद्ध रहेको बताए । उनले भने, ‘वडाको हिजो, आज र भोलि समेटेर यसलाई कस्तो बनाउने भनी १० वर्षे प्रस्तावित योजना बनाउँदै छौं ।’
योजनावद्ध विकास, पारदर्शिता र सुशासनको माध्यमबाट समृद्धिको मार्ग अघि बढ्न सकिने उनले बताए । अध्यक्ष नेपालीले वडा दर्पण अंक ३ महिला विशेषांकका रुपमा प्रकाशन हुने जानकारीसमेत दिए ।
वडा सदस्य एवं वडा दर्पण अंक २ प्रकाशन उपसमिति संयोजक उज्ज्वल खत्रीले वडाले गरेका काम वडावासीसमक्ष लैजान र नागरिक र सरकार सहकार्यका लागि प्रकाशनले सहयोग गर्ने बताए ।

शिक्षासेवी श्रीकान्त खतिवडाले नागरिकलाई बौद्धिक कार्यमा संलग्न गराउन र सरकारका गतिविधि जनतासम्म पु¥याउन यस्ता प्रकाशन सहयोगी हुने बताए । उनले यस खालका प्रकाशनहरु परिचयात्मक मात्र नभई तथ्यमा आधारित र विश्लेषणात्मक पनि भए तिनीले अनुसन्धाता, वडावासी र सर्वसाधारणलाई समेत उपयोगी हुने विचार राखे ।
वडा सदस्य अञ्जु केसीले जनप्रतिनिधिले जनअपेक्षा पूरा गर्न योजनावद्ध रुपमा काम गरेको उल्लेख गर्दै बाँकी कार्यकाल अझ बढी जनअपेक्षा पूरा गर्न लगाउने बताइन् । अर्का वडा सदस्य पुष्पराज बरालले नागरिक र सरकारबीच समन्वय र पुलको काम गर्न यस खालका गतिविधि सहयोगी हुने बताए ।






