जो बाइडेन विजय नजिक, ट्रम्पद्धारा अदालत जाने चेतावनी

अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा टक्कर दिंदै अघि बढेका डेमोक्र्याट उमेद्वार जो बाइडेन विजय नजिक पुगेका छन् ।

आफ्नो पराजय देख्न थालेपछि रिपब्लिकन उमेद्वार ट्रम्प आक्रोशित हुन थालेका छन् । उनले केही राज्यको मतगणनामा असहमति जनाउँदै पुनःमगणनाको माग लिएर अदालत जाने चेतावनी दिएका छन् ।

राष्ट्रपति निर्वाचनको जारी मतगणना अन्त्यतिर पुग्दै गर्दा बाइडेनको पक्षमा २ सय ६४ इलेक्टोरल मत देखिएको छ । यस्तै ट्रम्प २ सय १४ मतसहित निकै पछि परेका छन् ।

कुल ५ सय ३८ इलेक्टोरलमध्ये २ सय ७० मत ल्याउने उमेद्वार विजयी बन्नेछ । अमेरिकाको आगामी चार वर्षे कार्यकालका लागि बाइडेनलाई अब ६ मत मात्र आवश्यक छ ।

उनी ६ इलेक्टोरल मत रहेको नेभाडा राज्यमा ट्रम्पभन्दा अघि छन् । यही राज्यको जिते भने पनि बाइडेनको लागि पर्याप्त हुनेछ ।

जीत वा हारका लागि निर्णायक मानिएका केही राज्यमा बाइडेनको लगातार जीत र अग्रताले उनी विजय नजिक पुगेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

मतगणनाको पछिल्लो नतिजाअनुसार मिसिगन र विस्कन्सिन राज्यमा जीत हात पारेपछि बाइडेन विजय उन्मुख बनेका हुन् । सन् २०१६ को निर्वाचनमा यी दुवै राज्य ट्रम्पले जितेका थिए ।

अहिले जर्जिया, पेन्सिल्भेनिया, नर्थ क्यारोलाइना र अलास्काको नतिजामाथि सबै ध्यान केन्द्रीत छ । यी चारै राज्यमा ट्रम्पको अग्रता छ ।
यद्यपी यो निर्वाचनलाई नजिकबाट हेरिरहेका मिडियाहरुले अब ट्रम्पको सम्भावना निकै कम हुँदै गएको अड्कलबाजी गरिरहेका छन् ।

पछिल्लो स्थितिमा बाइडेनले नेभाडामा अग्रता लिइरहेका छन् । यो राज्य उनले आफ्नो पक्षमा पारे भने उनी आगामी जनवरीमा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गर्नेछन् । उनी बाराक ओबामाको पालाका पूर्वउपराष्ट्रपति हुन् ।

सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक मानिएको यो निर्वाचनमा पछिल्लो शताब्दीयताकै धेरै मतदान भएको बताइएको छ ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१६ मा हिलारी क्लिन्टनलाई फराकिलो अन्तरले पराजित गर्दै ह्वाइट हाउस प्रवेश गरेका थिए । त्यतिबेला ट्रम्पको ३ सय ६ र क्लिन्टको २ सय ३२ इलेक्टोरल मत थियो ।