धौलागिरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमितको उपचार गर्दै आएको धौलागिरी अस्पताल बागलुङमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । बिहान साढे १० बजे बागलुङ नगरपालिका–३ का ६६ बर्षिया पुरुषको उपचारको क्रममा धौलागिरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

ती पुरुषमा उच्च रक्तचाप र थाइराइडको समस्या थियो भने कोरोना संक्रमित भएपछि फोक्सो र मृगौलामा समेत समस्या देखिएको थियो । उनी कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा गरिएको जाँचमा कोभिड–१९ पुष्टि भएपछि साताअघि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

डा। पोखरेलका अनुसार मृतकको शव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा नेपाल आर्मीले तयारी थालेको छ । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।