पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा रहेको विरुवा बचत तथा ऋण सहकारीमा सर्वसम्मत नयाँ नेतृत्व चुनिएको छ ।
सहकारीको नवौं साधारणसभा तथा चौथो अधिवेशनले शिवराज आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको हो । समितिको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा हरिशचन्द्र रेग्मी, सहसचिवमा सुमित्रा लम्साल र कोषाध्यक्षमा घनश्याम शर्मा छन् ।
यस्तै, सदस्यमा कल्पना श्रेष्ठ, रघुनाथ पराजुली, लालुप्रसाद उपाध्याय, विष्णुप्रसाद सुवेदी, द्रोणराज महत र राधिका शर्मा
छन् । लेखा समिति संयोजकमा रघुनाथ शर्मा र सदस्यद्वयमा शशिकला लामिछाने, कमलप्रसाद बराल छन् ।
शिक्षा उपसमितिमा मित्रलाल तिवारी, मीनाकुमारी पोख्रेल र ऋण उपसमितिमा लोकनाथ जैसी र बाबुराम अधिकारी छन् ।
महामारीका कारण विभिन्न चरणमा साधारणसभा र निर्वाचन भएको थियो । निर्वाचन समितिका संयोजक झपिन्द्रराज रेग्मीले नयाँ कार्यसमिति सार्वजनिकसहित कार्यसमितिलाई सपथ गराएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका सहकारी रजिष्टार प्रेमप्रसाद ढकालले विभिन्न तहका सरकारले तयार गरेका सहकारी ऐन अनुसार सहकारीहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘नयाँ ऐन अनुसार सहकारी सञ्चालन गरी सेयर सदस्यको अधिकतम हितमा लाग्नु जरुरी छ ।’
पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारीले सहकारीहरुले आर्थिक कारोबारमा मात्र नभएर महामारीमा पनि सामाजिक दायित्व निर्वाह गरेको स्मरण गरे । कास्की बचत संघका अध्यक्ष भेषराज बरालले संस्था स्थापनाले उद्देश्य र अहिलेको आवश्यकता अनुसार काम गर्न आग्रह गरे ।
पोखरा महानगरका कार्यपालिका सदस्य राधिका शाही योगीले महनगरले तर्जुमा गरेको सहकारी ऐन बमोजिम अब सहकारीहरु सञ्चालन हुनुपर्ने बताइन् । सफल बचत तथा ऋण सहकारीका अध्यक्ष हरि बास्तोलाले सहकारीले देशको तेस्रो खम्बाको भूमिका निर्वाह गरे पनि सरकारले हेर्ने दृष्टिकोण अझै स्पष्ट भइनसकेको बताए ।
कार्यक्रम एवं संस्थाका अध्यक्ष चित्रराज बरालले आफ्नो कार्यक्रममा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन सचिव शिवराम भण्डारीले गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष आचार्यले संस्थाका सेयर सदस्य, कार्यसमिति, सल्लाहकार सबैको साथ लिएर सहकारीलाई अझै उत्कृष्ट बनाउने प्रतिवद्धता गरे । विरुवा सहकारी गण्डकी प्रदेशको उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत भइसकेको छ । यसमा ६ सय ३२ जना सेयर सदस्य छन् ।




