नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित

चैत ११ गतेपछि चार महिना लडकडाउन भयो । लकडाउनकै बीचमा सुनको भाउले आकास छुँदै गयो । तोलाको एक लाख रुपैयाँ नाघ्यो । कोभिड–१९ को महामारी रोकिएको छैन । सुनको मूल्यमा अझै उतारचढाव हुने सम्भावना छ ।

सुनको मूल्यमा भएको बृद्धिसँगै सर्वसाधारणसँग भएको सुनका गहना भने सोचे अनुरुप बजारमा आईपुगेन् । लडकडाउन अघि सुनको ७६ हजार ५ सयमा कारोबार भएको थियो । कोभिड–१९ कै महामारीको बीचमा मूल्य बढेर १ लाख ३ हजार ३ सयसम्म पुग्यो ।

‘मूल्य बढेसँगै एक झमट बेच्न ल्याए । तर हामीले सोचे अनुसार बेच्न भने आएनन्’ पोखरा मोहरिया टोलस्थित कन्चन आभुषणका निर्देशक बिमलमान गुभाजूले भने–‘गहना किन्ने नै छैनन् ।’ उनका अनुसार पुरानो गहना साटफेर गरेर लगाउने बढी थिए ।

कारोबारमा मन्दी छ । सर्वसाधारणको क्रय क्षमतामा ह्रास आएको छ । क्रयशक्ति नहुदाँ सर्वसाधारणले सुनका गहना किन्ने तर्फ ध्यान दिएका छैनन् । ‘भाउ घट्यो भने कारोबार बढ्छ । तर अहिले तयारी गहना किन्ने ग्राहक छैनन् ।’ अहिले लगानी अनुसारको फाईदा नहुने उनको भनाई थियो ।

‘हिजो मूल्य घटेको अवस्थामा जुन ज्याला थियो । अहिले सुनको मूल्य भएको बृद्धिमा पनि ज्याला उही छ’ उनले भने–‘व्यवसायीलाई फाईदा छैन् । तर मूल्य घट्यो भने कारोबार बढ्ने छ ।’ उनका अनुसार सुनको मूल्य विश्वबजारले प्रभाव पार्ने हुदाँ उतार चढाव भईरहन्छ ।

नको बुझाईमा सुनको मूल्य बृद्धिभएसँगै केहीले सुनमा लगानी गरेर बचत गर्ने तर्फ ध्यान दिएका छन् । उनले केहीले ढिक्का सुना खरीद गरेर राखेको सुन्नमा आएको छ । ‘ढिक्का सुन नेपाल राष्ट्रबैंकले मात्रै विक्री गर्छ ’ उनले भने–‘व्यवसायीले केवल गहना मात्रै बेच्न पाउँछ । ढिक्का बेच्न पाउने अधिकार व्यवसायीलाई भने छैन् ।’

कोभिड–१९ को केही देशले भ्याक्सिन बनाएको खबरले सुनको भाउ घट्दै गएको छ । भाउ बढ्दा पुरानो गहना साटफेर मात्रै गर्ने र थोरै थपथाप गरेर लैजाने ग्राहक मात्रै आएका छन् । ‘तीजमा कारोबार हुन्थ्यो । लकडाउन भयो । मूल्य बढेपछि पुरानो साटफेर गरेर लगाउने बढी आए ।’ सुन चाँदी व्यवसायी संघ कास्कीका उपाध्यक्ष राजेश बुद्धचार्यले भने–‘केहीले पुरानो बढी दिएर नयाँ थोरै लिएर गए । केहीले थपथाप गरेर लैजाने काम गरे ।’ नयाँ गहना नगदमा किनेर लगाउने शून्य नै रहेको उनको भनाई थियो ।

कोभिड अघि पोखरामा हप्तामा ३ केजी खपत हुन्थ्यो । विदेशबाट आउनेले गहना नै ल्याउँथे । त्यसले गर्दा पोखरामा सुनको अभाव हुदैन्थ्यो । तर अहिले हप्तामा आधा केजी पनि कारोबार हुदैन् । ‘कारोबार निल नै छ ।’ उपाध्यक्ष बुद्धचार्यले भने–‘कारोबार निल हुदाँ कालिगढलाई तलब दिन पनि सकस भएको छ ।’

पोखरामा ३ सय सुनचाँदी व्यवसायी छन् । एक हजार नेपाली कालिगढ छन् । ५ सय बंगाली कालिगढले गहना बनाउँछन् । बंगाली मध्ये पोखरामा अहिले ५० जना जतिमात्रै रहेको भन्दै उपाध्यक्ष बुद्धचार्यले थपे–‘बाँकी सबै आफनो घर फर्किसकेका छन् ।’

उपाध्यक्ष बुद्धचार्यका अनुसार पोखरामा सुन आयात भएको छैन । सुनको कारोबार शून्य भएपछि नेपाल सुन चाँदी व्यवसायी महासंघले व्यवसायीहरुले सुनमा लगानी गर्न नै नसक्ने अवस्थाले सरकारलाई सुन आयात नगर्न पत्रचारसमेत गरिएको उनले सुनाए । ‘कारोबार नहुदाँ व्यवसायीले सुन किन्ने अवस्था नै छैन । त्यसैले महासंघले सरकारलाई सुन नल्याउन पत्राचार गरिसकेको छ ।’ उनको भनाई थियो ।