खास्टेताल मत्स्य तथा कृषि सहकारीमा हरिप्रसाद

खाष्टेताल मत्स्य तथा कृषि सहकारीको शनिबार भएको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अविधेसनले अध्यक्षमा हरिप्रसाद अधिकारीलाई निरन्तरता दिएको छ ।

सर्वसम्मत भएको समितिमा उपाध्यक्षमा शान्ति पौडेल, सचिवमा नवराज ढुंगाना, कोषाध्यक्षमा डिल्लीराम लामिछाने र सदस्यमा हेमराज बराल, रमेशराज पौडेल, शिवराज तिमिल्सेना, वीरेन्द्र भण्डारी, सरस्वती भण्डारी बराल, कल्पना भण्डारी र सुमन ढुंगाना छन् ।

लेखा समिति संयोजकमा हरिश्चन्द्र तिमिल्सेना, योगेन्द्र बराल र विकास ढुुंगाना छन् ।
कार्यक्रममा पोखरा २६ का अध्यक्ष नारायणप्रसाद बरालले प्रकृतिक स्रोतका रुपमा रहेका ताल तलैयाको संरक्षण गर्दै स्थानीय उपभोक्ताको आय आर्जन र रोजगारी सृजनामा सहकारीले खेलेको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । सहकारीले पोखरा २६ मा रहेका खाष्टेताल र न्यूरेनीताल संरक्षण गरी आयआर्जनका लागि माछापालन गर्दै आएको छ ।

जिल्ला सहकारी संघ कास्की महासचिव छविलाल लामिछानेले सहकारीले स्थानीय स्रोत र साधानको भरपूर रुपमा उपयोग गरी बजारमा देखिएको माछाको अभावलाई पूर्ति गर्न सक्नुपर्नेमा जोड दिएका थिए । निर्वाचन मण्डलका संयोजक राममणि ढुंगानाले सहकारीको मर्म र भावना अनुसार सहकारी चल्ने हो भने आयतीत वस्तुलाई विस्थापित गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा शिक्षा उपसमिति संयोजक चिना लामिछाने र सञ्चालक समितिका सदस्य बुद्धिसागर भण्डारीले पनि बोलेका थिए । संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शान्ति पौडेल र सञ्चालन सचिव श्रीभद्र बरालले गरेका थिए ।

समृद्धिका लागि तालको विकास भन्ने मूल नाराका साथ विस २०७३ सालमा स्थापना भएको सहकारीले हालसम्म ७ सय १९ सेयर सदस्यबाट १ करोड २६ लाख ७८ हजार ५ सय सेयर पुँजी संकलन गरेको छ ।