पोखराका विभिन्न क्षेत्रका महिलाले समाज महिलामैत्री हुन नसकेको गुनासो गरेका छन् ।
युनाइट्स नेपालको आयोजना र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको सहकार्यमा पोखरामा आयोजित महिला सशक्तीकरण तथा लैङ्किक हिंसा न्यूनीकरण कार्यशाला गोष्ठीमा उनीहरुले महिलामा योग्यता र दक्षता हुँदाहुँदै पनि महिलामैत्री वातावरणको अभावमा अवसरबाट बञ्चित हुनुपरेको बताए ।
समाज जति नै विकसित हुँदै गए पनि महिलाप्रति सकारात्मक दृष्टिकोणको अभावले अवसरबाट बञ्चित हुँदा निर्णायक तहसम्म पुग्न नसकेको उनीहरुको भनाइ थियो । साथै, दिनप्रतिदिन महिला तथा बालबालिकामाथि बढ्दो हिंसा र बलात्कारका घटनाले महिलाई मानसिकरुपमा विक्षिप्त बनाएको अनुभवसमेत सुनाएका थिए ।
पोखरा चेम्बर अफ कमर्स कास्की उपाध्यक्ष गीता तिवारीले स्कुलका पाठ्यक्रम नै परीमार्जित गरी विभेदरहित शिक्षामा जोड दिनुपर्ने विचार राखिन् । उनले महिला पुरुष दुवैको उत्तिकै भूमिका र जिम्मेवारी रहने भएकाले महिला बालबालिकाका विषयमा साझा धारणाको खाँचो औंल्याइन् ।
क्यान कास्की अध्यक्ष विश्वास भण्डारीले सचेत नागरिकबाट नै समाज परिवर्तन सम्भव हुने उल्लेख गर्दै हिंसारहित समाजका लागि नतिजामुखी कार्यक्रममा जोड दिनुपर्ने बताए ।
कार्यक्रमका संयोजक एवम् क्यान कास्की सदस्य सवी गौचन शेरचनले महिलाको आत्मरक्षा र आत्मविश्वासका लागि खेलकूद पनि अपरिहार्य हुँदै गएको चर्चा गर्दै संकुचित मानसिकताबाट माथि उठेर समाज बदल्नुपर्नेमा जोड दिइन् ।
कार्यशालामा युनाइट्स नेपालका अध्यक्ष खुशल रेग्मी, सदस्य प्रतिमा भट्ट र युएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले पहिलो सत्रमा महिला सशक्तीकरण र दोस्रो सत्रमा युवा सशक्तीकरणका विषयमा सहजीकरण गरेका थिए ।
कोभिड –१९ को जोखिमलाई ध्यान दिएर स्वास्थ्य सतर्कताको मापदण्ड पूरा गरी दुई सत्रमा ५० जना सहभागी थिए ।




