पोखरा महानगरपालिका वडा नं. १७ ले फोहोरमैला वर्गीकरणलाई सघाउन सामुदायिक शिक्षण संस्थाहरुलाई आवश्यक डस्टबिन वितरण गरेको छ ।
महानगरले फोहोरमैला वर्गीकरणका लागि थालेको अभियानलाई सघाउन बुधबार डस्टबिन वितरण गरिएको हो । वडाध्यक्ष तीर्थराज अधिकारीलाई पोखरा १७ का ४ शैक्षिक संस्थाका प्रतिनिधिलाई डस्टबिन हस्तारण गरेका हुन् ।
वडाले कुहिने, नकुहिने, सिसाजन्य र सेनिटरी प्याडका लागि हरेक संस्थालाई ९ डस्टबिन दिएको छ । छोरेपाटनमा रहेको वडा प्रहरी कार्यालयलाई पनि डस्टबिन हस्तान्तरण गरियो ।
वडाध्यक्ष अधिकारीले विद्यालय तहबाटै फोहोर व्यवस्थापनबारे जानकारी दिन यसले सांकेतिक सन्देश दिने उल्लेख गरे ।
पोखरा १७ की वडा सदस्यसमेत रहेकी फोहोर वर्गीकरण अभियान पोखरा महानगरकी सहसंयोजक राधिकाकुमारी शाही योगीले वडा वडाबाट अभियानलाई सघाउन यस खालका कार्यक्रम जरुरी रहेको बताइन् । उनले पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आन्दानी गर्ने र फाल्नैपर्ने फोहोरलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार विर्सजन गर्न अभियान चलाइएको उनको भनाइ छ ।
कार्यक्रममा नेकपा पोखरा पोखरा १७ का अध्यक्ष सुवास ढुंगाना, गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष टंकराज अधिकारी, वडाका कर्मचारी प्रजापति बराल, सन्तोष पौडेल लगायतले बोलेका थिए ।




