जानकी माविमा पुनर्निर्माण प्राधिकरणको सहयोगमा भवन बन्दै

जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधीन भवन सोमबार अनुगमन गरेको छ ।

नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाको लागतमा निर्माणाधीन भवनको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला आयोजना कार्यान्वय इकाई(शिक्षा) प्रमुख लालप्रसाद पोख्रेल, जनप्रतिनिधिसमेतले संयुक्तरुपमा अनुगमन गरेका हुन् ।

समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय विकास निर्माणका लागि स्थानीयको सकृय सहकागिता आवश्यक रहेको उल्लेख गरे । भौतिक निर्माणसंगै शिक्षाको गुणस्तरीयता वर्तमानको आवश्यकता भएको बताउँदै उनले शैक्षिक संस्थाहरु त्यसतर्पm केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख लालप्रसाद पोख्रेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थी एवम् व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहने जनाए । भुकम्प पश्चात कास्की जिल्लामा दुई अर्व रुपैयाभन्दा बढी लागतमा विद्यालयको भौतिक संरचना निर्माण भई रहेको जानकारी दिंदै उनले अन्य आवश्यकता भएको स्थानमा पनि नयाँ भवन निर्माणमा जोड दिइने जनाए ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा एवम् भौतिक विकासमा स्थानीय श्रोत साधनको भरपुर उपयोग गरिदै आएको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम भण्डारीले गुणस्तरीय शिक्षा र पूर्वाधार निर्माणमा सबैको सहयोगको अपेक्षा गरे । उनले भने, ‘अब कक्षा १० सम्मलाई भवन त पुग्छ तर फर्निचर अभाव छ । निजी स्रोतमा शिक्षकहरु राख्नुपर्ने वाध्यता पनि छँदै छ ।’

कार्यक्रममा निर्माण समिति संयोजक नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कँडेल लगायतले विद्यालयका गतिविधि माथि प्रकाश पार्नुभएको थियो । विद्यालयमा हाल २ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।