पोखरा प्रज्ञा प्रतिष्ठानमा ११ जनाको नाम सिफारिस

पोखरा महानगरपालिकाले गठन गर्न लागेको पोखरा प्रज्ञा प्रतिष्ठान गठनका लागि ११ जनाको नाम सिफारिस भएको छ ।

आइतबार सिफारिस समितिले पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, जीवन दाहाल, सरस्वती श्रेष्ठ सरु, मीलन शेरचन, सुरज उपाध्याय, प्रकाश ज्ञवाली, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन) र प्रतीक थापाको नाम सिफारिस गरेको हो ।

प्रतिष्ठानका संरक्षकसमेत रहेका मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद् सदस्य एवं सदस्य मनोनयन गर्ने छन् । ११ सदस्यीय प्रतिष्ठानमा कुलपति, उपकुलपति सदस्यसचिव र सदस्यहरु रहने व्यवस्था छ ।

पोखरा वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा गठित समितिमा मनकुमार श्रेष्ठ र महानगरका सूचना अधिकारी भरतराज पौडेल सदस्य छन् ।

सम्बन्धित विधामा विशिष्ट योगदान पुर्‍याएकामध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य हुने व्यवस्था ऐनमा छ । सिफारिस गरिएमामध्ये २ जनामात्र महिला छन् । मीलन शेरचन र सरस्वती श्रेष्ठ सरु सदस्य बन्ने प्रवल सम्भावना छ ।

प्रतिष्ठानमा २ कार्यपालिका सदस्यसमेत हुन्छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने व्यवस्था छ ।

प्रतिष्ठानको कुलपतिमा पद्यराज ढकाल र उपकुलपतिमा मेनकाजी चयन हुने स्रोतले जनाएको छ ।

अब मेयर मानबहादुर जिसीले सिफारिस भएकामध्ये ८ जनालाई मात्रै चयन गर्नेछन् । महानगरपालिकाले यस आर्थिक वर्षमा पोखरा प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिष्ठानको कुलपति हुने सम्भावना रहेका लोकगायक ढकाल जनसांस्कृतिक महासंघमा आवद्ध छन् । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थामा आवद्ध उनले जनवादी गीत लेखन र गायनमा सक्रिय छन् ।

उपकुलपतिको चर्चामा रहेका मेनकाजी गुरुङ हिमाली सांस्कृतिक परिवारका अध्यक्ष हुन् । पोखराकी स्थापित कवि एवं गीतकार सरस्वती श्रेष्ठ सरुका कविता संग्रह र गीत सञ्चयनसमेत प्रकाशित छन् ।

सारंगी प्रशिक्षणका रुपमा चिनिएकाधनबहादुर गायक गायक पनि हुन् ।
सिफारिस भएका प्रकाश ज्ञवाली पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष हुन् ।

मीलन शेरचन जापानी चित्रकला हानानो ओसिनावाकी कलाकार हुन् । मोतीबहादुर कार्की (परिवर्तन) नेपाली नाटकको उन्नयनका लागि क्रियाशील छन् । जीवन दाहाल लोकदोहोरी गायक हुन् ।

सुरज उपाध्याय कवि एवं लेखक हुन् । उनी विशेषगरी बालसाहित्यमा क्रियाशील छन् । छन् । कृष्णप्रसाद भण्डारी गायक हुन् भने प्रतीक थापा संगीतकार हुन् ।

समितिले नाम सिफारिस गरेपछि चाडै पोखरा प्रज्ञा प्रतिष्ठान बन्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि प्रतिष्ठानका लागि बजेट विनियोजन भए पनि प्रतिष्ठान बन्न सकेको थिएन ।