काठमाडौं उपत्यमा संक्रमितको संख्या २५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई  कोरोना संक्रमण देखिएको छ।

अब उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ। काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा  २ हजार १८५ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर १९११  जना कोरोना संक्रमित पुष्टि भएका छन्।

नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु भएको छ। कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए। ५९ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।