अपडेट छैन जिसस मुस्ताङको वेबसाइट

- जिल्ला समन्वय समिति मुस्ताङको आधिकारिक वेबसाइटमा अपलोड गरिएका अन्य सूचना समेत धेरै पुराना छन्

समन्वय समिति मुस्ताङको बारेमा जानकारी दिनको लागि भनेर वेबसाइट बनाइएको छ तर कर्मचारी फेरिएको महिना दिन पुग्न लाग्दा समेत वेबसाइटमा भने पुरानै कर्मचारीलाई बर्तमान भनेर देखाइएको छ । तत्कालिन जिल्ला समन्वय अधिकारी पुष्पराज कटवाल सरुवा भएर उनको ठाउँमा तिर्थराज खनाल आएको समेत महिना दिन पुग्न लागिसक्यो तर हालसम्म वेबसाइट अपडेट गरिएको छैन ।

त्यस्तै तत्कालिन सूचना अधिकारी केदार सिंह थापा समायोजन भएर हाल घरपझोङ गाउँपालिकामा कार्यरत छन् तर वेबसाइटबाट उनको नाम हाल सम्म हटाइएको छैन । सरकारी निकायको वेबसाइट निर्माण तथा ब्यबस्थापन सम्बन्धी निर्देशिकाले कुनै पनि सूचना प्रकाशित भएको वा परिबर्तन भएको तिन दिनभित्र वेबसाइटमा अपडेट गर्नुपर्ने प्राबधान छ तर जिल्ला समन्वय समिति भने यो बारे बेखबर छ ।

पछिल्लो समय सूचना प्रबाहको लागि वेबसाइटलाई अपरिहार्य मानिए पनि जिल्ला समन्वय समिति मुस्ताङको आधिकारिक वेबसाइटमा अपलोड गरिएका अन्य सूचना समेत धेरै पुराना छन् । सूचना प्रविधिको प्रयोग ब्यापक रुपमा बढीरहेको दैनिक सेवा प्रबाहलाई थप चुस्त दुरुस्त बनाउन सरकारी कार्यालयले कार्यालयमा कार्यरत कर्मचारीलाई समेत थप तालिम दिएर अथवा सूचना प्रविधि सम्बन्धी ज्ञान भएको कर्मचारी राखेर नै सेवा प्रबाह चुस्त दुरुस्त बनाउन आवश्यक छ ।

यस अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको वेबसाइटमा समेत सरुवा भएर गैसकेका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीको विवरण लामो समय सम्म वेबसाइटबाट हटाइएको थिएन।