विशेष अदालत काठमाडौंले घुस खुवाएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहका परीक्षामा गोल्ड मेडल लिएका विद्यार्थी र त्यसमा संलग्न पदाधिकारीलाई दोषी ठहर गरेको छ।
त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई १ वर्ष २ महिना कैद फैसला मंगलबार सुनाएको छ। उनलाई बिगो र जरीवाना गरी चार लाख ५७ हजार रूपैयाँ जरिवाना गर्ने विशेषले फैसला गरेको छ।
न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले यो फैसला गरेको हो। कोइरालालाई प्रश्नपत्रको गोपनीयता भंग गरेको अभियोगमा ६ महिना कैद र सात हजार जरिवाना तथा घुस खुवाएको अभियोगमा ८ महीना कैद र चार लाख ५० हजार जरिवाना गरिएको छ ।
कोइरालाले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय मानविकी संकायतर्फको एमए गोप्य शाखाका शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई एक लाख ५० हजार घुस दिएर आफ्नो प्राप्तांक बढाउन लगाएका थिए।
कोइरालाले एमए ग्रामीण विकासको परीक्षामा पनि त्यसैगरी नम्बर थप्न लगाएर प्रथम श्रेणी प्राप्त गरेका थिए भने एमए समाजशास्त्रको परीक्षामा अनुपस्थित हुँदाहुँदै पनि उत्तीर्ण भएका थिए।
विशेष अदालतले केदार भट्टराईलाई ११ महिना कैद र तीन लाख ५ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई ११ महीना कैद र १ लाख ५५ हजार रूपैयाँ जरिवाना हुने फैसला भएको छ।
परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कार्यरत अधिकृत राम कर्माचार्यसँग पनि ८० हजार रुपैयाँ धरौटी मागेको थियो।






