हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले पोखरामा एक कार्यक्रमका बीच विश्व रेविज विरुद्धको दिवस मनाएको छ ।
दिवसको अवसरमा संस्थाले ६४ सडकका कुकुरलाई पोखरा महानगरपालिकाको सहयोगमा रेविज विरुद्धको सुइ लगाउने तथा आवश्यक उपचार गरेको छ ।
पोखरा महानगर पशु शाखा प्रमुख नवराज अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष जुलियट कन्लिफ, यूके, संस्थाका अध्यक्ष चित्रराज बराल, वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारी, पशु बिज्ञ केन्द्रका प्रमुख डा शोभा शर्मा, रोग अन्वेषण प्रयोगशाला पोखराका डा केदारराज पाण्डे, डा गणेश केसी, डा भरतराज रेग्मी, नेपाल पशु स्वास्थ्य प्राविधिक संघ कास्कीका सहदेव पौडेल, नेपाल पाराभेटेनरी एण्ड लाइभस्टक एसोसियसनका पुष्प बास्तोला लगायतको उपस्थितिमा कार्यक्रम भएको संस्थाका सदस्य राजु पौडेलले बताए ।
संस्थाले १ दशकदेखि पशु स्वास्थ्य सेवा र उद्धारमा सक्रिय भुमिका निर्वाह गरेको छ । रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।
रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।




