कालिका र माझठानाका स्कुललाई माक्स र साबुन

पोखरा २८ भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्दै वडाध्यक्ष निर्मल दियाली । तस्बिर :भीमपाणि बराल

पोखरा महानगरपालिका वडा नं २८ ले आफ्नो वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरु खोलेर पठनपाठन गर्ने अवस्था बनाउन वडाले सहयोग गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाको सूचना अनुसार वडाध्यक्ष निर्मल दियालीले बिहीबार १० वटा विद्यालयलाई माक्स र साबुन हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्याक एवं व्यवस्थापन समितिका अध्यक्षहरुलाई करिब डेढ महिनालाई पुग्ने माक्स र साबुन प्रदान गरिएको दियालीले जानकारी दिए । नेपाल सरकारले तोकेका सुरक्षाका विधिहरु अपनाएर आइतबारबाट विद्यालय सञ्चालन गर्ने तयारी भएको छ ।

पोखरा २८ मा १ संस्थागत, २ मावि र ७ आधारभूत विद्यालय छन् । ती स्कुलका विद्यार्थी तथा शिक्षकका लागि करिब डेढ महिना पुग्ने माक्स र साबुनका लागि करिब १ लाख ७५ हजार खर्च भएको छ ।