करोडौंको स्याउ फलाउने मुस्ताङका कर्म

- झन्डै १ सय ५० रोपनी जग्गामा स्याउ खेती

स्याउ खेती गरी सुन फलाउने मुस्ताङका एक जुझारु किसानको नाम हो कर्म गुरुङ । गुरुङकै कृषि कर्ममा पू¥याएको योगदानको कदर गर्दै राज्यले सम्मान गर्ने भएको छ । मुस्ताङको घरपझोङ —५ ढुम्बा निवासी कर्म गुरुङले नेपाल सरकारले संविधान दिवसको अवसरमा जनसेवा श्री(पञ्चम) पदक पाउँने भएका छन् । उनी ४ दशक देखि कृषि व्यवसायमा आवद्ध छन् ।

राज्य तहबाट सम्मान गर्ने खबरले उनी निकै हौसिएका छन् । जिल्लाको कृषिक्षेत्रको विकास र यसमा आफुले गर्दै आईरहेको श्रम र मेहनतलाई राज्यले उपयुक्त मूल्याङ्कन गरेको उनको बुझाई छ । नेपालको कृषिक्षेत्रको विकासमा सम्मान मात्र पर्याप्त नभएकाले यसका लागि राज्यले कृषकलाई धेरै सेवा सुविधा प्रदान गर्नुपर्ने र किसानहरुको जिवनस्तर उकास्न ठोस कार्ययोजना र नीति ल्याउनु पर्ने स्याउ किसान कर्मले सुझाए ।

मुस्ताङ जिल्ला स्याउ उत्पादनले प्रसिद्ध ब्रान्ड बनेको जिल्ला भएकाले यहाँ उत्पादित स्याउमा उपभोक्ताको बर्र्सेनि माग बढेको बताए । उनले मुस्ताङको स्याउले भारतीय र चाईनिज स्याउसंग अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्दा किसान र व्यापारी मर्कामा परेको उनको ठम्याई छ ।

कृषि क्षेत्रमा लामो समय देखि सक्रिय रहँदै आईरहेका मुस्ताङका किसान कर्म गुरुङ अहिले स्याउ खेतीलाई नयाँ आधुनिक र मोडेल प्रविधि मैत्री खेतीको रुपमा रुपान्तरण गर्ने अभियानमा जुटेका छन् । झन्डै ४ दशक अघि देखि निरन्तर पुस्ता हस्तान्तरण भई आएको यहाँको रैथाने जातको स्याउ खेतीमा लागि परेका उनी पछिल्लो ४ वर्षयता उनी छिटो र छरितो गुणस्तरीय स्याउ उत्पादन दिनसक्ने ईटालियन जातका स्याउको खेती गर्न कस्सिएका छन् ।
हिमाली जिल्ला मुस्ताङबाट करोडौ रुपैयाको स्याउ फलाएर पोखरा—काठमान्डौं लगायतका स्थानमा बिक्री गर्ने मध्येका किसान हुन कर्म गुरुङ । उनले मुस्ताङमा झन्डै १ सय ५० रोपनी जग्गामा स्याउ खेती गरेका छन् । यसै वर्ष उनले प्रदेश सरकारबाट ७० प्रतिशत र स्याउ जोनको ५० प्रतिशत अनुदानमा उपलब्ध छिटोछरितो गुणस्तरीय फल दिनसक्ने १० हजार उच्चघनत्वका स्याउ बिरुवा लगाएका छन् ।\

हिमाली जिल्लाको मनाङको मनाङ एग्रो फार्ममा उच्चघनत्व विदेशी स्याउको परीक्षण सुरु भएपछि उनले पनि मुस्ताङमा त्यसको नमूना परीक्षण गरेको उनी बताउछन् । अहिले उनले विदेशी स्याउ बिरुवाको नमूना परीक्षणले मूर्त रुपमा पाएको छ । खेर गएका जग्गा र बाझा जग्गामा पनि स्याउ खेती गरी सुन फलाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ कृषि पेशामा समर्पित भएको उनले बताए ।
स्याउ खेतीमा उनले आफ्ना आफन्तको जग्गाहरु समेत उपयोग गरेका छन् । उनको घरपझोङ—५ मा चिम्ले ओरचार्ड स्याउ फार्म छ । घरपझोङको वडा—३ जोमसोम स्थित फाईपस्टार भिलेज ,ढुम्बा र चिम्ले लगायतका ३ स्थानमा उनले स्याउ खेती गरेका छन् । गुरुङले अहिले रैथाने स्थानीय जातका स्याउ र उच्चघनत्वको स्याउ गरी बर्सेनि १ सय ५० मेट्रिक टन स्याउ उत्पादन गर्ने गरेको जानकारी दिए ।

उनले लगाएको १० हजार उच्च घनत्वको स्याउ बिरुवाले केही वर्षमा उत्पादन दिन थालेमा करिव ५ करोड बराबरको स्याउ एक्लैले फलाउनसक्ने बताए । ‘स्याउको आम्दानी स्याउमै लगानी गर्दै आईरहेको छु ,खर्च पनि उस्तै बढी छ ’किसान कर्मले भने‘ अहिले गरेको लगानी र मेहनतको फल केही वर्षभित्र मिल्नेमा आशावादी छु । ’

स्याउ किसान कर्मले रैथाने स्याउमा रोयल ,रेड ,रिचारेड र गोल्डेन स्याउ र फुजी स्याउ उत्पादन गर्दै आईरहेका छन् भने ४० रोपनी सिचाई विहिन बाँझो जग्गामा सिन्चित गरी उच्चघनत्वको गाला ,फुजी,किङरोड र गोल्डेन लगायतका बिरुवाहरु लगाएका छन् । उच्चघनत्वको स्याउ बिरुवा लगाएपछि स्याउ किसान कर्मले नेदरल्याण्डबाट दक्ष स्याउ बिज्ञ प्राविधिक झिकाएर तालिम लिए भने जिल्लाका १ सय बढी किसानलाई पनि तालिम प्राप्त गर्ने अवसर जुटाए ।

उनको स्याउ फार्ममा २ दर्जन जनशक्तीले प्रत्यक्ष रोजगार पाएका छन् भने अल्पकालिन रुपमा सय भन्द बढीलाई काम दिने गर्छन् । आफुले उत्पादन गरेको स्याउ बिचौलिया र व्यापारीलाई बिक्री नगरी सिधै बजार सम्म पू¥याउने काम पनि आफुले गर्दै आईरहेको उनले बताए ।

स्याउ संम्वन्धि विभिन्न तालिम ,अनलाईन भिडियो शिक्षा र प्राविधिकबाट दक्षता हासिल गरेर सफलतातर्फ लम्किन प्रेरणा मिलेको उनको भनाई छ । ‘मुस्ताङमा रैथाने स्याउ खेतीमा किसानले बगैचामा व्यवस्थापनमा त्रुटी गरेको पाईयो ।

नयाँ र पुरानो खेतीलाई उत्पादनशिल तुल्याउन अरु किसानलाई पनि जानकारी दिने गरेको छु ’उनले भने ‘ अनुकुल भुगोल र यहाको हावापानीले मनाङ भन्दा मुस्ताङ जिल्ला स्याउ खेतीका लागि उपयुक्त छ ।’