कास्कीकोट कल्याणकारी कोष स्थापना

समाज उपान्तरणको लागि अग्रणी भूमिका खेलिरहेको हाम्रो कास्कीकोट युवा संजालको  तेश्रो बार्षिक साधारणसभाले ‘कास्कीकोट कल्याणकारी कोष’ स्थापना गरेको छ | साथै संयोजक हेम सुबेदीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम पारित भएका छन् |

निस्वार्थ रुपमा सामाजिक हितका लागि जोकोहीले पनि एक दिनको एक रुपैयाँका दरले सहयोग गर्न सक्नेगरी ल्याइएको विशुद्ध सामाजिक अवधारणानै ‘दिनको एक रुपैयाँ’ अवधारणा भएको  र  यस अवधारणा मार्फत धेरै भन्दा धेरै जनाको दिनको एक रुपैयाँ संकलन गरी कोष खडा गरिने जानकारी संयोजक सुबेदीले दिए |

योगदानकर्ताहरुबाट संकलित रकमलाई‘मूल कोष’ मानी उक्त कोषको परिचालन गरी (मुद्दती निक्षेपमा राखी) आउने ब्याज लगायतका आम्दानीलाई प्रयोग गरी आपत विपदमा परेका मानिसहरुलाई सहयोग गरिने जानकारी संस्थाका प्रविधिक संयोजक रुद्र प्रसाद अधिकारीले दिए  । साथै सहयोग कर्ताले तत्काललाई राष्ट्रिय बाणिज्य बैंक महेन्द्रपुल शाखामा रहेको संस्थाको खाता नम्बर ३४३०१००००६२३७००१ मा सहयोग रकम जम्मा गर्न सक्ने कुरा अधिकारिले बताए |

अभियान मध्येका एक अवधारणाकर्ता, संजालका संस्थापक एवं पूर्व संयोजक चन्द्रेश्वर बस्ताकोटिले कोषमा सिमित रकम भएको अवस्थामा र राहत रकमको माग धेरैबाट हुन सक्ने अवस्थामा कोषको दानकर्ता नै पिडित बन्न पुगेकोमा पहिलो प्राथमिकता दानकर्तालाई दिइने कुरामा जोड दिए |

कुनैरोगका कारण जीवनमरणको दोसाँधमा रहेका, बाढी,पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपका कारण परिवारका सदस्य, घर तथा सम्पत्ति गुमाएका,अतिगरिब (गाँस, बास,कपासको कुनै टुङ्गो नभएका), आगलागी वा कुनै दुर्घटनाबाट पिडित आर्थिक र पारिवारिक रुपमा अत्यन्तै दयनीय, बालबालिका, वृद्ध, असाह्य, अशक्त आदिलाई प्राथमिकतामा राखि आवश्यकताको आधारमा राहत रकम उपलब्ध गराईने जानकारी अभियान मध्येका अर्का  अवधारणाकर्ता, संजालका संस्थापक एवं पूर्व आर्थिक संयोजक बालहरी शर्मा सुबेदीले दिए |

दिनको एक रुपैया अभियानको माध्यमबाट ‘कास्कीकोट कल्याणकारी कोष’ स्थापना भएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व, वडा नम्बर २४ का वडा अध्यक्ष ओम प्रसाद सुबेदीले कोषमा रकम जम्मा गर्नको लागि बिशेष पहल गर्ने साथै कोषबाट भबिस्यमा वास्तविक पिडित लाभान्वित हुनेमा बिश्वास ब्यक्त गरे |

संस्थाले स्थापनाकालिन समयदेखि निरन्तर कास्कीकोटको सामाजिक, आर्थिक एवं पर्यटन बिकासमा महत्वपुर्ण भूमिका खेल्दै आइरहेको र आउदा दिनमा यो अभियान कास्कीकोटमा कोशेढुंगा साबित हुने बिश्वास संस्थाका सल्लाहकार डा. भूमिराज बस्ताकोटीले प्रकट गरे |

साधारणसभामा संस्थाका आर्थिक संयोजक कबिता बि.कले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्ब सहमतले पारित गरेको थियो | साथै सदस्यता शुल्क बृद्दी प्रस्ताब सगै सल्लाहकार थप प्रस्ताब पनि परित गरेको छ | थप सल्लाहकारमा स्वास्थ्य क्षेत्रबाट डा. दिपक मल्ल, खेलकुद क्षेत्रबाट कुल बहादुर थापा, योग तथा साधना क्षेत्रबाट प्रदिप कुमार श्रेष्ठ र संचार एवं प्रबिधि क्षेत्रबाट सालिकराम सुबेदीलाइ मनोनयन गरिएको जानकारी संस्थाका ब्यबस्थापन संयोजक एवं कार्यक्रम संचालक शितल गिरीले दिए |

संजालका संस्थापक, वडाका जनप्रतिनिधि, आजीवन/ साधारण सदस्य, कार्यसमिति सदस्य एवं समाजका अगुवाहरुको उपस्थिमा सम्पन्न उक्त कार्यक्रममा डा अनिल सुबेदी, अन्निधर त्रिपाठी, शालिकराम सुबेदी, प्रभात त्रिपाठी लगाएतले बोलेको जानकारी संस्थाका सह-संयोजक राजु कार्कीले दिए |