लघुकथाः कमाइ

घटना नं. १
“पीसीआर टेस्ट गरिदिनु प¥यो, डाक्टर साब ।” दस हात परैबाट एक जनाले बिन्ती बिसाए ।
“के हुन्छ भन्नुस् ?”
“ज्वरोखोकी छ, अलिअलि सास फेर्न पनि गारो हुन्छ ।”
“के गर्नुहुन्छ तपैं ?”
“निजी स्कूलमा पढाउँथें तर अहिले त…”
“ए, मैले बुझिहालें, अब ज्वरो आउँदैमा आत्तिनु पर्दैन । घरमै छुट्टै १४ दिनमा बस्नुस् ।” डाक्टरले थामथुम पारे ।

घटना नं. २
“पिसीआर टेस्ट गरेर हेर्नुप¥यो डाक्टर बाबु ।” पुगनपुग २ हात फरकमा एप्पल मोबाइल खेलाउँदै अर्को एक जनाले भने ।
“के हुन्छ भन्नुस् ?”
“खोकी लाग्लालाग्ला जस्तो छ, जीऊ गरुङ्गो हुन्छ ।”
“के गर्नुहुन्छ ?”
“उद्योग व्यवसाय चलाउछु ।”
उनको स्वाव लिइयो । घरपरिवार सबैलाई जँचाइयो । अन्य सम्पर्कमा आएका करिव एक सय जनालाई अस्पतालमै बोलाइयो र उनीहरुका पनि स्वाव लिइयो ।
दुई दिनपछि डाक्टरकी श्रीमतीले भनिन्, “स्टाफहरुको तलब भुक्तान भयो ?”
“अब उद्योगका भएभरकालाई चेक गर्न लगाएपछि समस्या समाधान हुन्छ,” निजी अस्पतालका मालिकले बोले ।