प्राविधिक क्याम्पसका जनशक्तिलाई स्थानीय विकासमा जोडिने

राष्ट्रिय विज्ञान दिवशका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक चार वटा संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

पोखरास्थित विभिन्न प्राविधिक शिक्षालयहरुसंग महानगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

महानगरस्थित प्राविधिक क्याम्पसहरुको सीप, ज्ञान र जनशक्तिलाई स्थानीय तहको विकासमा जोडेर लैजाने उद्देश्यका साथ महानगरले पश्चिमाञ्चल क्याम्पस, वन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लब पोखरासँग साझेदारी पत्रमा हस्ताक्षर गरेको हो ।

पोखरा महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न ‘राष्ट्रिय विज्ञान दिवश तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रम’मा पोखरा महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख मानबहादुर जिसीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेल, वन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लब पोखराका उपाध्यक्ष निरुता थापाले क्याम्पससँग सम्वन्धित प्राविधिक ज्ञान, सीप र जनशक्ति को सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरस्थित प्राविधिक शिक्षालयहरुको सीप, ज्ञान र जनशक्तीलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारीपत्रमा हस्ताक्षर भएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससँग सम्वन्धित क्रियाकलापमा आफुलाई जोडदै लैजानपर्ने उनको धारणा थियो ।

हाललाई ४ शिक्षालयसँग सम्झौता पत्रमा हस्ताक्षर भएको र आगामी दिनमा बाँकी अन्य क्याम्पसहरुसँग पनि सम्झौता गरेर अगाडी बढने महानगरले लक्ष्य लिइएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जुन लक्ष्य प्राप्तिका लागि महानगरले शिक्षालयहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ, त्यो पूरा गर्न महानगर प्रविवद्ध रहेको जनाइन् ।

पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले शैक्षिक संस्था र राज्यका कार्यकारी निकायहरुका बीच सहकार्य अनिवार्य रहेको र महानगरले सो को तदारुकता देखाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा वन क्याम्पसका प्रमुख विनोद हयेजु, निरुता थापा, मोनिका थापा लगायतले बोलेका थिए । कार्यक्रमका अवसरमा राष्ट्रिय विज्ञान दिवशको औचित्य र जनजीविकामा यसको महत्व बारे अन्तरक्रिया समेत गरिएको थियो ।

सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शहरी योजना आयोगकै सदस्य बाबुराम भण्डारीले गरेका थिए ।