अधिकारीलाई विश्व–राधा–नेत्रा साहित्य पुरस्कार

विश्व–राधा–नेत्रा साहित्य पुरस्कार यस वर्ष ६ दशकदेखि नेपाली साहित्यको उन्नयनमा साधनारत प्रगतिशील समालोचक प्राडा रविलाल अधिकारीलाई प्रदान गरिने भएको छ ।

स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा रहेर नेपाली वाङ्मयका क्षेत्रमा साधनारत साहित्यकार देवेन्द्र लम्सालले २०७५ सालमा आफ्ना दिवङ्गत पितामाता विश्वनाथ लम्साल, राधिका लम्साल र नेत्राकुमारी लम्सालको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।

समालोचक डा कृष्णराज अधिकारी, कविद्वय मित्रलाल पंज्ञानी र चिन्तु गिरी रहेको तीन सदस्यीय प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न गरेको सिफारिस प्रतिष्ठानले अनुमोदन गरेको हो ।

पुरस्कारको नगद राशि १५ हजार रुपैयाँ र सम्मानपत्र छ । यो पुरस्कार ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जाले सञ्चालन गर्ने गरेको छ ।

प्राडा अधिकारीको कास्कीको मिजुरेडाँडामा जन्मिएका थिए । त्रिविको प्राध्यापन पेसाबाट अवकाश प्राप्त अधिकारीका हालसम्म कविता–काव्य, निबन्ध, समालोचना लगायतका विधामा लगभग दुई दर्जन कृति प्रकाशित छन् ।

यो पुरस्कारबाट यसअघि प्राडा ताराकान्त पाण्डेय सम्मानित भइसकेका छन् ।

पुरस्कार ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’द्वारा नियमित प्रकाशन हुँदै आएको ‘ज्याग्दीखोलाको तरङ्ग’ पूर्णाङ्क २० को लोकार्पणका साथ विशेष साहित्यिक समारोहको आयोजना गरी २०७७ कार्तिकमा प्रदान गरिने पत्रिकाका कार्यकारी सम्पादक नारायण मरासिनीले जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।