फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे । फेवातालको एतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थितलाई प्रतिवेदनमा समेटिएको छ भने फेवातालसम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जासमेत प्रतिवदेनमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको फेवातालसम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले प्रतिवेदन तयार पारेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतम लगायत उपस्थित थिए ।