अब नेपालका सबै प्रयोगशालामा पिसिआर जाँच २ हजारमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले पिसिआर जाँचको अधिकतम २ हजार रुपैयाँमात्र लिन पाउने निर्णय गरेको छ ।

सरकारले सबै अस्पतालमा पिसिआर जाँचको शुल्क घटाएको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मूल्य सस्तो भएसँगै शुल्क घटाइएको बताए ।

नेपालमा ११ निजीसहित ४७ प्रयोगशालामा पिसिआर परीक्षण हुन्छ। कन्ट्याक्ट ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्नेहरु, स्वास्थ्यकर्मी लगायतको पिसिआर जाँच सित्तैमा हुन्छ भने अरुले चाहेमा शुल्क तिर्नुपर्छ ।

सरकारले पहिलो पटक पिसिआर जाँचको शुल्क ५ हजार ५ सय तोकेको थियो। त्यसपछि घटाएर ४ हजार ४ सयसम्म लिन पाउने निर्णय गरेको थियो ।