ढोरपाटनका पीडितलाई पोखराबासी बागलुङेको साथ

बागलुङको ढोरपाटन वडा नं ८ र ९ का पीडितलाई पोखराबासी बागलुङेले सहयोग गरेका छन् ।

उनीहरुले १ लाख ७८ हजार ६ सय पीडितका लागि पठाएको बागलुङ समाज पोखराका अध्यक्ष सुनिल पाण्डेले जानकारी दिए । ढोरपाटन नगरपालिका र आसपासका क्षेत्रमा गत बुधबार राति आएको भीषण बाढी, पहिरोमा परी २१ जनाको मृत्यु भएको थियो भने अझै १७ जना बेपत्ता छन् ।

बागलुङ समाज पोखराले संकलन गरेको ६३ हजार ६ सय, गलकोट समाज पोखराबाट ५५ हजार, बागलुङ समाज पोखरा महिला समूहबाट ५० हजार र बागलुङ समाज पोखरा बचत र ऋण सहकारीबाट १० हजार गरी कुल १ लाख ७८ हजार ६ सय रुपैयाँ पठाइएको अभियानका संयोजक एवं बागलुङ समाज पोखराका कोषाध्यक्ष ठाकुरप्रसाद सापकोटाले बताए । प्राकृतिक विपत्तिमा परेका जिल्लावासीलाई दायित्व वोध गरी महलम लगाउने प्रयास गरिएको उनको भनाइ छ ।