भालुको आक्रमणबाट घाइते वृद्धलाई उपचारमा समस्या

माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।

आईतवार दिउँसो घर नजिकको जंगलमा घाँस काट्न गएका गएको बाँदरझुलाका ६० बर्षिय धनबहादुर मगरलाई भालुले आक्रमण गरेको हो ।

भालुले आक्रमण गर्दा घाइते मगरको टाउँको, दायाँ हात र खुट्टामा गम्भीर चोट लागेको सुकुम्बासी संघर्ष समिति बाँदरझुलाका अध्यक्ष राजकुमार चेपाङले जानकारी दिए ।गम्भीर घाईत भएका मगरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

तर, अहिले आर्थिक अभावका कारण उपचारमा समस्या भएको उनका छोरा सुरज मगरले बताए । ‘डाक्टरले हात खुट्टाको सिटि स्क्यान र टाउकाको प्लास्टर सर्जरी गर्न भन्नुभएको छ,’ उनले भने, ‘तर हामीसंग पैसा नहुँदा सिटि स्क्यान र प्लास्टर सर्जरी हुन सकेको छैन ।’

आर्थिक अवस्था कमजोर भएका मगरलार्ई गाउँलेले बाटो खर्च जुटाएर राति भरतपुर अस्पतालमा उपचारका लागि पठाएका थिए ।