राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी हुन्। ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन्।

पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्। विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका उनी अब राष्ट्रपतिका सञ्चार विज्ञको मुख्य भूमिकामा रहनेछन्। ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ।

यसअघि ढकालले सार्क विकास कोष लगाउत विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेका थिए। राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त ढकाल माओवादी शहीद परिवारका सदस्यसमेत हुन्। उनका भाइ मोहनप्रसाद ढकाल ०५८ साल कात्तिक ६ गते पाँचथरको आरुबोटेमा सुरक्षाकर्मीद्वारा मारिएका थिए।