पोखराका ३ वडा २६ गतेसम्म सिल

समुदायमा संक्रमण फैलिएपछि पोखराका ३ वटा वडा सिल गरिएको छ । पोखरा १० का अध्यक्ष राजकुमार गुरुङ, पोखरा १२ का अध्यक्ष रामकुमार कार्की र पोखरा १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले शुक्रबार संयुक्त रुपमा सूचना निकालेर यसको जानकारी दिएका हुन् ।

अध्यक्षत्रयले सूचना निकालेर शुक्रबार राति १२ बजेदेखि भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् ।

यी वडा अन्तर्गतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुरासँ टोल, भद्रकाली, ढिकालेथर, कुँडहरचोक, मियापाटनसम्म क्षेत्र सिल हुने भएका छन् ।

यसैगरी लालीगुराँस मिनीमार्ग, प्रगति टोल, विपी मार्ग ‘क’ र ‘ख’, भद्रकाली ‘ख’ टोल, माछापोखरी, संगम टोल, मियाँपाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्र सिल गरिएको सूचनामा उल्लेख छ ।

सिल हुने क्षेत्रमा खाद्यान्न र तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न दिइनेछ भने एम्बुलेन्स तथा अन्य अत्यावश्यक क्रियाकलापबाहेक अरुमा रोक लगाइएको छ ।