भाँडा पसल र किराना पसलबाट मल बिक्री, गुनासो आएपछि अनुगमन

पोखरामा साल्ट टे«डिङले वितरण गरेको युरिया मलमा गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमन गरेको छ ।

किसानले धान गोड्ने बेला हाल्नुपर्ने युरिया मल तीन दिन अगाडी साल्ट टे«डिङले ४ जिल्लाका किसानलाई उपलब्ध गराएको थियो । विभिन्न सहकारीलाई मल उपलब्ध गराउने र सहकारीले किसानलाई वितरण गर्ने व्यवस्था भए पनि जहाँतहीँ छ्यापछ्याप्ती भाँडा पसलदेखि, खाद्यान्न, किराना, भेटरीनरी, जहाँ पनि युरिया मल पाइने गरेको गुनासो छ ।

प्रशासनले पोखराका ५ वटा कृषि सहकारीको अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालयले बिहीबार गरेको अनुगमनमा पोखरा ३२ खोलाको छेउ भन्ने ठाँउमा भाडा पसल राज सुवेदी स्र्टोसमा अनुमती विना मल बिक्री गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

अन्य ठाँउमा कृषि सहकारीले राखेका बिक्री केन्द्र किराना पसलसगै मल राखिएको भेटिएको छ । ‘कृषि सहकारीले व्यवस्थित रुपमा साइनबोर्ड नराखेको, बिल नराखेको, खाद्यान्न पसलसँगै रासायनिक मल राखेर विक्री गरेको, मूल्य सूची राख्ने जस्ता मापदण्ड पालना नगरेको भेटिएको छ । सुधार गर्ने भनेका छौं,’ उनले भने ।

पोखरामा मल बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख सुरेशराज भण्डारीले अनुदानको मल व्यवसायीलाई बेच्नै नमिल्ने भएकाले गुनासोको आधारमा अनुगमन गरिएको जानकारी दिए । ‘खाद्यान्न बेच्ने पसलले मल बेच्न अनुमति नै नपाउने व्यवस्था छ । बिक्री केन्द्रहरुले गरेका गल्तिलाई सुधार गर्न लगाएको र सुधार गर्न नसक्ने वा अटेरी गर्नेलाइ मल दिदैनौ,’ उनले भने ।

पोखरामा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत यही भदौ १४, १५ र १६ गते १ सय ७९ टन मल कास्की, स्याङजा लम्जुङ र तनहँु गरी ४ जिल्लाका सहकारीलाइ वितरण गरेको भण्डारीले जानकारी दिए । अनुगमनमा सहायक प्रमुख गुरुदत्त ढकाल, साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख सुरेशराज भण्डारी, प्रशासकीय अधिकृत लिलाबल्लौ न्यौपाने लगायत प्रहरी र पत्रकारसहितको टिम सहभागी थियो ।