शिशुवा अस्पतालमा शल्यक्रियामार्फत् प्रसूति सेवा सुरु

पोखरा महानगरपालिका अन्र्तगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराइएको छ ।

शिशुवा अस्पतालका प्रसूति रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो । बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भई पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसूति गराईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रतिभा कोइरालाले जानकारी दिइन् ।

अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकोमा अबदेखि शल्यक्रिया मार्फत पनि प्रसूति सेवा शुरु भएको कोइरालाले बताइन् । लेखनाथ क्षेत्रका शल्यक्रिया मार्फत प्रसूति गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको बताउँदै कोइरालाले अस्पतालका सेवालाई थप सुधार गरिदै लगिनेसमेत उल्लेख गरिन् ।

तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसूति सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको उल्लेख गर्दै उनले त्यसमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङबाट थप सहयोग र हौसला प्राप्त भएको स्मरण गरिन् ।