युनाइटेडको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ ।

सामाजिक काममा अग्रणी क्लबले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान गर्दै आएको भएता पनि यो पटक कोरोना महामारीका कारण रगतको अभाव भएपछि आकस्मिक रक्तदान आयोजना गरेको क्लबका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रम संयोजक जयराम आचार्यले बताए ।

पहिलो रक्तदाता डा. आशीष श्रेष्ठलाई क्लबका अध्यक्ष लालकाजी गुरुङले ब्लडब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको क्लवका महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।

स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेती नदी संरक्षण, दैवीप्रकोपमा परेकालाई सहयोग गर्दै आएको क्लवले कोरोना महामारीको विसम परिस्थितिमा रगतको अभाव भएपछि कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष लालकाजी गुरुङले बताए ।