पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा बिहीबार कोरोनाबाट एक महिलाको मृत्यु भयो ।
ती ३२ वर्षीय महिलामा अन्य स्वास्थ्य समस्या नरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । युवावस्थामै अन्य रोगबिना कोरोनाकै कारण मृत्यु गण्डकीको यो पहिलो घटना हो ।
पोखरा १२ की ती महिला करिब २ हप्तादेखि अस्पतालको आईसियुमा उपचाररत रहेको र अन्य स्वास्थ्य समस्या नदेखिएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
कास्की सेवा अस्प्तालमा निमोनिया भएर आएकी ती महिलामा पछि कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतकको ठेगाना पोखरा ११ उल्लेख गरे पनि ती मृतक पोखरा १२ की बासिन्दा भएको पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए । मृतकका १ छोरा, १ छोरी र श्रीमान् रहेको कार्कीले जानकारी दिए ।
कोरानाबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौ रर पोखराको तेस्रो व्यक्ति हुन् ।
अपेडट गरिएको :- ११:१९ बजे भदौ ११ गते




