बागलुङमा बजारमा एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ बजारमा होटल चलाएर बस्ने महिलामा कोरोना देखिएपछि उनीकहाँ खाना, खाजा खानेहरूलाई पनि संक्रमण फैलिएको आशंकासहित कन्ट्याक्ट ट्रेसिङ भइरहेको नगरपालिकाले जनाएको छ ।
संक्रमित महिलाका श्रीमान् र दुई छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित महिला होम क्वारेन्टाइनमा रहेकाले उनलाई धौलागिरि अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको छ ।
यसैबीच प्रजिअ सुरेश न्यौपानेको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले आंशिक लकडाउन गर्ने र यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखेर मन्दिर, पार्टी प्यालेस, जिम हललगायत मानिसको बढी आवतजावत हुने ठाउँ अस्थायी रूपमा बन्द गर्ने र होटल र रेस्टुरेन्टले होम डेलिभरी गरेर मात्र सामान विक्री गर्नुपर्ने निर्णय भएको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुने गरी मानिसहरू भीडभाड गर्न नपाइने, शैक्षिक संस्था सञ्चालन गर्न नपाइने, मन्दिरको नित्य पूजाबाहेक सबै खालको धार्मिक गतिविधि बन्द गर्ने, सांस्कृतिक कार्यक्रम भीडभाड गरेर गर्न नपाउने, सभा, गोष्ठी, सेमिनार, तालिम गर्न नपाउने, सैलुन, ब्युटीपार्लर, स्वीमिङ पुल, जिमखाना, खेलकुद, फुटसल, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न नपाउने, सार्वजनिक निजी तथा वित्तीय संस्थाहरू सीमित कर्मचारीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलाउनुपर्ने निर्णय भएको हो ।





